पूर्ण स्मृति पुरस्कारका लागि छनोट समिति

दुलेगौंडा

‘पूर्ण स्मृति शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कार’ २०८१ वितरणका लागि छनोट समिति चयन गरिएको छ ।

तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित पुरस्कार वितरण गर्न समिति चयन गरिएको हो । समितिले पुरस्कार प्रदान गर्ने व्यक्तिको छनोट गर्नेछ ।

रेडियोका अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’ को अध्यक्षतामा बसको कार्य समिति बैठकले पूर्वअध्यक्ष नारायणकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरेको हो । समिति सदस्यमा रेडियोका उपाध्यक्ष सरस्वती सिग्देल ‘लक्ष्मी’ र सल्लाहकार कमलमोहन घिमिरे रहेका छन् ।


तनहुँ जिल्लामा क्रियाशिल रहेका मध्य एक जनालाई पत्रकारिता पुरस्कार, जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति गरि तीन विधामा सम्मान गरिने पूर्व अध्यक्ष नारायणकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार खोजमुलक पत्रकारितामा कलम चलाउने पत्रकारलाई प्राथमिकता दिइनेछ ।

रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र परिवारबाट गरेर तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषमा जम्मा गरिएको रकमको ब्याजबाट प्राप्त आम्दानीले ३ विधामा क्रियाशिल व्यक्तिलाई वार्षिक रुपमा नगदसहित सम्मान गर्न लागिएको हो ।

तेस्रो पटक आगामी पुष २७ गते पुरस्कृत गर्न लागिएको सचिव शिव पौडेलले बताए । रेडियोको नवौंं वार्षिक साधारणसभा एवम छैठौं अधिवेशनको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सम्मान गरिने अध्यक्ष ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०/१० हजार रुपैयाँको साथमा प्रमाणपत्र रहेको छ ।

पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार रुपैयाँको साथमा प्रमाणपत्र रहेको छ । स्वर्गिय श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनोट गरिएको हो । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.