प्रेस चौतारी तनहुँको अधिवेशन माघ २२ गते, त्रिभुवनलाई पुरस्कार

दमौली

प्रेस चौतारी नेपाल तनहुँ शाखाको अधिवेशन आगामी माघ २२ गते हुने भएको छ । शाखाको आज सम्पन्न बैठकले अधिवेशन मिति तय गरेको हो ।

प्रेस चौतारीको स्थापना दिवसको अवसर पारेर अधिवेशन गर्ने निर्णय गरिएको सचिव ऋषिकान्त दुवाडीले जानकारी दिए । बैठकले शाखा अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेको छ ।

प्रतिवेदन लेखन उपसमितिमा अध्यक्ष राजकुमार श्रेष्ठ विवि, प्रचारप्रसार उपसमितिमा सचिव ऋषिकान्त दुवाडी, आर्थिक संकलन उपसमितिमा उपाध्यक्ष कृष्ण न्यौपाने, स्वागत सत्कार उपसमितिमा उपाध्यक्ष सम्झना रसाइली र खाना खाजा व्यवस्थापन उपसमितिमा सहसचिव किरण श्रेष्ठ संयोजक रहेको उपसमिति गठन गरिएको छ ।

बैठकले प्रेस चौतारी नेपाल तनहुँबाट प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघ तनहुँको विभिन्न पदमा निर्वाचित भएकालाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

पत्रकारिता पुरस्कार श्रेष्ठलाई


प्रेस चौतारी नेपाल तनहुँ शाखामा स्थापित प्रेस चौतारी पत्रकारिता पुरस्कार शाखाका पूर्व अध्यक्ष त्रिभुवन श्रेष्ठलाई प्रदान गरिने भएको छ । बैठकले शाखामा स्थापित उक्त पुरस्कार पूर्व अध्यक्ष श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त पुरस्कार शाखाको आगामी माघ २२ गते स्थापना दिवसका अवसरमा आयोजना हुने जिल्ला अधिवेशनका क्रममा प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशी दश हजार रुपैयाँ रहेको छ ।

प्रेस चौतारीले मरेर बाँचेकाहरु र अन्तिम सन्देश नामक वृत्तचित्र प्रदर्शन गरेर बेचेको रकमबाट एक लाख रुपैयाँको पत्रकारिता अक्षयकोष स्थापना गरेको थियो । उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यसअघि उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार विश्वबन्धु भण्डारी, शाखाका पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, नारायण खड्का, बसन्ती बास्तोला, कृष्ण न्यौपाने पुरस्कृत भइसकेका छन् ।

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराई र अध्यक्ष राजकुमार श्रेष्ठ विविले शाखाको अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न गर्न तयारी थाल्न आग्रह गरे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.