दुलेगौंडा-स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारले ल्याउन लागेका अध्यादेशमा कुनै विवादित विषय नरहेको दाबी गरेका छन् । शुक्रबार राति अबेरसम्म बसेको मन्त्रीपरिषद् बैठकले तीन वटा अध्यादेश ल्याउने निर्णय गरेको छ ।
शनिबार तनहुँको दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले शुसान कायम र लगानीमैत्री वातावरण बनाउन अध्यादेश ल्याउने निर्णय भएको दाबी गरेका हुन् ।
‘कसरी शुसासन कायम गर्न सकिन्छ ? कसरी अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सकिन्छ ? लगानीमैत्री वातावरण बनाउन, कसरी स्वास्थ्य सेवालाई व्यवस्थित गर्न सकिन्छ यी आदि विषय जोडिएका छन्’, उनले भने, ‘छिट्टै संसदको अधिवेशन आह्वान गरेर संसदमार्फत ऐनहरु विधेयकहरु निर्माण गर्ने । कानुन निर्माण गर्ने पक्रियामा यो सरकार एकदमै गतिशिल ढंगमा अगाडि बढ्नेछ ।’
आफू सुधारिएको स्वास्थ्य मन्त्रालय बनाउन लागिपरेको उनको भनाइ थियो । एकीकृत बिमा प्रणालीको विकास गर्दै एकद्वार प्रणाली लागु गर्ने योजना बनाएको उनले बताए । स्वास्थ्य बिमा ५ लाख रुपैयाँ पु¥याउन काम भइरहेको जानकारी दिए ।
१५ दिनभित्र औषधिको मूल्य निर्धारण हुने मन्त्री पौडेलले उल्लेख गरे । उनी भन्छन्, ‘औषधिमा शुसासन कायम गर्दै व्यवस्थापनको विषयलाई एकदमै प्रभावकारी ढंगले चलाइनेछ ।’
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको स्तरोन्नतीको सन्दर्भमा आफूले सक्दो प्रयास गरिरहेको बताए । ‘पहिला पूर्वाधारमा मात्रै सहयोग आएको थियो अहिले उपकरणमा ध्यान दिएका छौं’, उनले भने ।
भारत सरकारसँग अस्पताललाई ३०० शैय्याको बनाउन सहयोगको लागि अपलि गरेको र केही दिनमा सम्झौता हुने उनको भनाइ थियो । भारतको स्वास्थ्य मन्त्रालयमा सम्झौताको फाइल पुगिसकेको मन्त्री पौडेलले बताए । तनहुँका स्वास्थ्य संस्थालाई सुदृढ गराउनतर्फ आफ्नो ध्यान केन्द्रित भइरहेको उनले सुनाए ।