तनहुँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको भरोसालाई विचलित नपार्ने विश्वास दिलाएका छन् । उनले २०६४ सालको जस्तो जनताको भरोसालाई विचलित हुन नदिने दाबी गरेका छन् ।
मंगलबार नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको तेस्रो सम्मलेनलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले जनताको भरोसालाई २०६४ सालको जस्तो विचलिच हुन दिने छैनौं । विभाजित हुन दिने छैनौं ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले इमानदारिताका साथ क्रान्तिकारी शक्तिलाई एक बनाउने अभियानमा लागेको सुनाए । पार्टीले प्राप्त गरेको जनमतलाई जोगाउने उनको भनाइ थियो ।
माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताको पुनः माओवादीप्रति बढ्दो भरोसालाई २०६४ सालको जस्तो विचलनमा पर्न नदिने दाबी गरेका छन् । पार्टीको पोखरा महानगरपालिकाको तेस्रो सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले विगत कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा नयाँ अभियानका साथ अगाडि बढ्ने स्पष्ट पारे । पहिलो शक्तिबाट तेस्रो शक्तिमा झर्नु कमजोरी भएको प्रचण्डको स्वीकारोक्ती थियो । त्यसको जिम्मेवारी लिनुपर्नेमा उनी प्रतिबद्ध सुनिए । ‘शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता र गणतन्त्रको घोषणा गर्ने नेतृत्वकर्ता हैसियतमा जिम्मेवारी लिनुपर्छ’, उनले भने ।
प्रचण्डले पार्टी एकताको लहर सुरु भइको बताए । उनी भन्छन् ‘केवल पार्टी एकता होइन नयाँ आन्दोलन र क्रान्तिको सुरुवात भएको छ ।’
मंगलबार पोखरामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय सचिवालय सदस्य किरण थापा (अमोद) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) गण्डकीका नेता शम्भु खाती, लक्ष्मी खाती, कास्की अध्यक्ष राजु क्षेत्री लगायत १४ जना माओवादी केन्द्र प्रवेश गरेका हुन् ।