पोखरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउदो एक वर्षमा देश पूरै माओवादीमय बन्ने दाबी गरेका छन् । आगामी निर्वाचनमा एक नम्बर पार्टी बन्नेसमेत उनले जिकिर गरे ।
शनिबार पोखरामा भएको नेकपा माओवादीको जनसभालाई सम्बोधन गर्दै त्यसका लागि माओवादीले गरेका कामबारे आफ्नो क्षेत्रका जनतालाई सुसूचित गर्न प्रचण्डले नेता कार्यकर्तालाई निर्देशनसमेत दिए । ‘आफ्नो क्षेत्रमा जनतालाई हामीले के ग¥यौं ? के गर्न चाहेका छौं । जनतालाई कसरी सुशासन दिन चाहेका छौं । जनतालाई कसरी समृद्धि दिन चाहेका छौं । सामाजिक न्याय दिन चाहेका छौं भनेर हामी सबैले भन्दिनुभयो भने मलाई के विश्वास छ भने आउदो एक वर्षमा देश सिंगै माओवादीमय बन्नेछ । आउदो निर्वाचनमा एक नम्बर पार्टी हुनेछ । र समाजवादको आधार निर्माण हुनेछ’, उनको भनाइ थियो ।
आफ्नो १८ महिने कार्यकालमा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियान चलाएको पूर्वप्रधानमन्त्री दाहालले बताए । चीन र भारतमा भएको भ्रमण र त्यहाँ गरिएका सम्झौताले दीर्घकालिन ढंगले विकास र समृद्धि आधार तय भएको उनले सुनाए ।
उनले संविधान संशोधन गरेर देशलाई प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा लैजानुपर्ने आवश्यकता औंल्याए । ‘हामीले पहिलो संविधान सभा बनाउदै भनेका थियौं । जे जस्तो संविधान बनाउदैछौं यसले देशमा स्थिरता दिदैन । यसले देशमा आर्थिक ढंगले समृद्ध बनाउन सक्दैन’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र भनिसकेपछि महिला दलित आदिवासी जनजाती मधेशी मुस्लिम सबैको पहिचान र अधिकारको कुरा गरिसकेपछि यदि देशमा राजनीतिक स्थायित्व कायम गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनैपर्छ भनेर भनेका थियौं ।’
प्रचण्डले संविधान नै नलेखिने खतरा भएकाले १० वर्षपछि आजाव उठाउने शर्त अगाडि सारेको स्मरण गरे । कंग्रेस एमालेको असहमतिको कारणले त्यसमा अडिएर बस्दा संविधान नै नबन्ने र देश झन ठूलो भूमरीमा पर्ने खतरा देखिएको उनले सुनाए । ‘हामीले नोट अफ डिसेन्ट लेखेर भविष्यमा १० वर्षपछि यो संविधानको समिक्षा गर्नेबेलामा यो विषय फेरि उठाउछनेछौं । जनताको बीचमा लानेछौं । र जनताको सहमति अनुसार संविधान संशोधन गर्ने गरेर प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिमा यो देशलाई पु¥याइछाड्ने भनेका थियौं’, उनले थपे, ‘तपाई हामीले त्यही स्प्रिटमा जनतालाई सुसूचित गर्नुपर्नेछ । जनतालाई प्रशिक्षित गर्नुपर्नेछ ।’
उनले संविधानसँगै निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताए । अहिलेको निर्वाचन प्रणाली ‘ढाकाको टोपीमा गुुँयलाकोको फूल’ भनाइ जस्तो भएको उनको जिकिर छ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र एक ढंगको छ । निर्वाचन प्रणाली र शासकीय स्वरुप अर्को ढंगको छ । अन्तरविरोध परेको छ’, प्रचण्ड विश्वस्त पार्दै सुनाउछन्, ‘हामी निर्वाचन प्रणालीलाई पनि संशोधन गर्नपर्छ भनेर चाहिरहेका छौं ।’
समाजवादी क्रान्तितिर जाने, समाजवाद उन्मुख राज्य संविधानले भनेपनि कस्तो, कसरी आउँछ स्पष्ट नभएकाले अब स्पष्टता खोज्ने समय आएको उनले सुनाए । समाजवादको स्पष्टता अरु कुनैपनि पार्टीबाट सम्भव नभएको प्रचण्डको भनाइ थियो । उनी भन्छन्, ‘अरु राजनीतिक पार्टीबाट हरेक दृष्टिले वैचारिक, राजनीतिक, सामाजिक, साँस्कृतिक हरेक दृष्टिकोणले सम्भव नै छैन उनीहरुबाट । त्यसकारण हामी नेताहरु खटेका छौं ।’
समाजवादी क्रान्तिको आधार तय गर्न नेकपा माओवादी केन्द्र तराई मधेश जागरण अभियान, मध्यपहाडी लोकमार्ग अभियानलाई लिएर अगाडि बढेको पूर्वप्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । अभियान लिएर हिँड्दा सहिद, वेपत्ता, घाइते परिवारसँग नयाँ सम्बन्ध जोडेको उनको दाबा छ । यो अभियान देशको स्थायित्वमा सर्मित रहेको उनको भनाइ थियो । ‘हामीले सोचें सम्झेको यो देशको स्थायित्वको निम्ति हो । यो देशमा रुपान्तरणका निम्ति हो । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति माओवादीले नै गर्नपर्छ’, उनको उद्घोष थियो ।
उनले माओवादी नेता कार्यकर्तालाई गहिरो आत्मसमिक्षा गरेर रुपान्तरणको अभियानमा लाग्न निर्देशन दिए । नयाँ क्रान्तिमार्फत नेपालमा राजनीतिक स्थायीत्व, भ्रष्टाचारको अन्त्य, आर्थिक विकास गर्ने जिम्मेवारी माओवादीको काँधमा रहेकाले संकल्प गर्न उनको सुझाव छ ।