दुलेगौंडा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०६४ सालको निर्वाचन परिणाम फर्काउन सकिने दाबी गरेका छन् र त्यतिबेलाकै माहोल फर्काउन सकिने संकेतहरु देखिइरहेको उनको भनाइ छ ।
तनहुँमा सहिद परिवारका सदस्यसँगको भेटघाटमा आफू प्रधानमन्त्री भएको १८ महिनाको कार्यकालमा निकै राम्रा काम गरेकाले पनि जनतामा आशाको सञ्चार भएको बताए ।
‘बीचमा एकचोटि सबै उस्तै हुन भन्ने भाष्य अलि बढि बनेको थियो । तर, १८ महिनाको सरकारमा गरिएका शुसासनसँग सम्बन्धित कामहरु, अरुअरु कामहरु र बाहिर मैले निक्लेपछि पनि गरेको अपिलहरु जनतालाई प्रतिनिधि सभाबाट र सभाहरुबाट त्यसको निकै राम्रो परिणाम देखिदैछ’, उनले भने, ‘निकै ठूलो माहोल बनेको छ । अब हाम्रो पार्टीले पनि एक ढिक्का भएर अभियान सञ्चालन गर्दै गयो भने हामीलाई लाग्छ ६४ फर्काउन सकिन्छ भन्ने संकेतहरु जताततै देखिएका छन् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादीका सबै नेतालाई एक ढिक्क भएर आ–आफ्नो ठाउँबाट मेहनत गर्न सुझाए । उनले आफूले देखाएको जोश जाँगर युवा नेता कार्यकर्तामा देखिनुपर्नेमा जोड दिए । उनले आफ्नो पछिल्लो कार्यकालमा जनता र राष्ट्रको पक्षमा रेकर्ड नै बनाएको सुनाए ।
‘मैले यो पटक सरकारको तेस्रो पटक प्रधानमन्त्री हुँदा केही संकल्प गरेको थिए । यो पटक मैले केही न केही रेकर्ड बनाउनै पर्छ राष्ट्रको पक्षमा जनताको पक्षमा’, उनी भन्छन्, ‘माओवादीको नेतृत्वले गर्ने रहेछ भन्ने विश्वास जनतालाई दिलाउनै पर्छ भनेर केही रेकर्डहरु बनाएकै हो ।’
सरकारबाट बाहिरिएपछि पार्टीमा नयाँ ढंगले अभियान चलाउन आफूले संकल्प गरेको उनको जिकिर छ । आफूले गरेको संकल्पले नयाँ विश्वास पैदा भएको पूर्वप्रधानमन्त्री प्रचण्ड बताउँछन् ।
‘यो संकल्पसँगै सबैतिर एउटा नयाँ विश्वास पैदा भएको छ । बीचमा एकचोटी त माओवादी हुँ भनेर दरोसँग भन्न पनि मान्छे डराउने जस्तो साथीहरु । यसो टाउको निहुँराएर हिँड्ने जस्ता हुन खोजिसक्याथे’, उनको दाबी छ, ‘अहिले चाँही सबलाई म माओवादी केन्द्रको नेता कार्यकर्ता भन्दा गर्व भयो । देशैभरी गर्व छ । सबैमा खुशी छ । यसलाई बचाउँ । यसलाई बचाएर अगाडि जाउ हामी जित्छौं ।’

