पोखरा
पाहुना टोली बिर्गेड ब्वाइज क्लब युकेलाई पराजित गर्दै नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।
शनिबार दिउँसो पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा पुलिसले बिर्गेड ब्वाइजलाई २–० गोल अन्तरले पराजित गर्न सफल भएको हो ।
पुलिसका लागि विवेक पाण्डेको खेलको २८ औं मिनेटमा गोल गरे । ४० औं मिनेटमा राम वाजीले हेडमार्फत गोल गरेका थिए । निर्धारित समयमा बिर्गेड गोल फर्काउन नसकेपछि पहिलो खेलबाटै घर फिर्ता भएको हो ।
आहा रारा गोल्डकपमा सर्वाधिक सफल पुलिसले प्रिक्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बिग्रेडसँगको भेट पक्का गरेको हो । बिर्गेड भने वाइ पाएर सिँधै क्वाटरफाइनल खेल्न आइपुगेको हो ।
पुलिसले क्याराभान गोल्डकप हुँदै २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपसम्म आइपुग्दा ६ पटक उपाधि जितेको छ । २०५८ सालमा भएको क्याराभान गोल्डकपको उपाधि चुम्दै पुलिसले इतिहास रचेको थियो । त्यसपछि ०५९, ०६४, ०६५, ०६६ र ०७४ मा उपाधि चुम्न सफल भयो ।
अब पुलिसले सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच हुने खेलको विजेतासँग माघ ३० गते खेल्नेछ । भोलिको दोस्रो क्वाटरफाइनल खेल थ्रिस्टार क्बल र मछिन्द्र फुटबल क्लबबीच हुनेछ ।
माघ २३ देखि जारी प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ । यो पटक तीन विदेशीसहित १२ टोली प्रतियोगितामा सहभागी थिए । उपाधि विजेताले १२ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ६ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।