पोखराले ल्यायो ८ अर्ब ३५ करोडको बजेट

पोखरा

कास्कीको पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

आइतबार पोखरा सभागृहमा भएको १७ औं नगर सभामा नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।

कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य स्वास्थ्यलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रम मेयर धनराज आचार्यले प्रस्तुत गरे । सोमबारदेखि मेयर आचार्य चीन भ्रमणमा जादैछन् । त्यसैले हतारमै उपमेयर मञ्जुदेवी गुरुङले ८ अर्व ३५ करोड १२ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेकी हुन् ।

बजेटमा चालु र पुँजीगतको रकम कति भन्ने नै खुलाइएको छैन । नगर कार्यपालिकाको कार्यालयलाई ९६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा सबैभन्दा बढी पूर्वाधार विकासले प्राथमिकता पाएको छ । पूर्वाधारतर्फ २ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरिएको उपमेयर गुरुङले जानकारी दिइन् । ‘महानगरस्तरीय ३५ वटा बहुवर्षिय योजना सम्पन्न गर्न ८७ करोड बजेट विनियोजन गरेको छु । बहुवर्षिय योजनालाइ वर्षेभरि बजेट अभाव हुन नदिने गरि चालु बर्षमा नयाँ कार्यक्रम अगाडि बढाउने व्यवस्था मिलाएको छु’, उनले भनिन् ।

सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ १ अर्ब, शहरी विकास पर्यटन वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

स्वास्थ्य सेवामा ३१ करोड २ लाख रुपैयाँ, शिक्षातर्फ १ अर्ब ७३ करोड ३३ लाख ५१ हजार रुपैयाँ छुट्टाइएको हो ।

खर्चमा संघीय सरकारको अनुदानबाट ३ अर्ब १ करोड ८१ लाख रुपैयाँ र आन्तरिक आयबाट ५ अर्व २३ करोड ३१ लाख रुपैयाँ व्यहोर्ने अनुमान छ ।

चालु आर्थिक बर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट पोखराले ल्याएको थियो । चालु बर्षको बजेट जेठ मसान्तसम्म ५५.४३ प्रतिशत मात्रै खर्च भएको उल्लेख गरिएको छ ।

आन्तरिक राजस्व परिचालनबाट ३ अर्ब २३ करोड ७२ लाख २७ हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट १ अर्ब १ करोड १५ लाख १४ हजार रुपैयाँ, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार रुपैयाँ, संघीय राजस्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार रुपैयाँ, संघीय अनुदानबाट ५२ करोड ८७ लाख रुपैयाँ, प्रदेश समानीकरण अनुदानबाट ८ करोड १५ लाख ४६ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

पोखराको पर्यटकीय पूर्वाधार विकास, उत्पादनमूलक व्यवसायिक कृषि प्रणालीको विकास, समानुपातिक विकास प्रक्रिया अवलम्बन, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै उत्पादनशील उपयोग गर्ने लगायतका बुदाँ बजेटमा उल्लेख छ ।

खर्च प्रणालीलाई सरल, सहज र व्यवस्थित गर्न आगामी आर्थिक बर्षदेखि सबै खर्च केन्द्रहरुमा विद्युत्तीय भुक्तानी प्रणाली पूर्ण रुपमा लागु गर्ने पोखरा महानगरको उद्घोष छ । ‘आम्दानी र खर्चको विविरण दैनिक रुपमा डिजिटल माध्यमबाट प्रकाशन गरिनेछ’, उपमेयर मञ्जुदेवी गुरुङले भनिन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.