पोखरा
पोखरा महानगरपालिकाको बिहिबार बसेको विशेष नगर सभाको बैठक एजेन्डा पनि प्रस्तुत नगरीकन स्थगित भएको छ ।
पोखरा सभागृहमा बसेको बैठक सुरु हुने वित्तिकै आइतबारसम्मका लागि स्थगित भएको हो ।
बैठकको सुरुमा उपमेयर मञ्जुदेवी गुरुङले स्वागत गरिन् । त्यसपछि मेयर धनराज आचार्यले मंसिर २३ गते आइतबारसम्म बैठक स्थगित भएको घोषणा गरे ।
कात्तिक १४ गते बसेको ३७ औं कार्यपालिका बैठकले महानगरमा कार्यरत २८ प्राविधिकसहित ३५ जना कर्मचारी हटाउने निर्णय गरेको थियो ।
निर्णयको विरुद्धमा आन्दोलनमा उत्रिएका नेकपा एमालेका जनप्रतिनिधिले विशेष नगर सभाको आह्वान गर्न माग गरेका थिए ।
उनीहरुको माग बमोजिम आह्वान गरिएको विशेष नगरसभा पाँच नबित्दै स्थगित भएको छ । मेयर आचार्यले विशेष बैठकमा प्रस्तुत गरिने एजेन्डामाथि छलफल गर्न बाँकी रहेको बताए । राजनीतिक दलसँग सहमतिको प्रयास भइरहेकाले आइतबारसम्म थप छलफल गर्ने बताउदै स्थागित गरिएको उनको भनाइ थियो ।
३५ जना कर्मचारी हटाउने निर्णयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेबीच जुहारी चलिरहेको छ । एमाले कर्मचारी हटाउन नहुने पक्षमा छ भने कांग्रेस लोकसेवाबाट पदपुर्ती भएकाले ती कर्मचारीलाई विदा गर्नुपर्नेमा एजेन्डामा अडिग देखिन्छ । सो निर्णय गर्न बसेको कार्यपालिका बैठकलाई समेत एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका थिए ।
कर्मचारी पनि आफूहरुलाई हटाउने निर्णयको विरुद्धमा उच्च अदालत पोखरालाई गुहार्न पुगेका थिए । तर, उच्चले अन्तरिम आदेश जारी गरेन ।