पोखरा
पोखराको पृथ्वीनारायण क्याम्पस (पिएनसी) मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मत झन्डै २९ सय खसेको छ । आइतबार भएको मतदानमा मत २ हजार ८९७ मत खसेको हो ।
पृथ्वीनारायण क्याम्पसमा नौ हजार २७० मतदाता रहेका थिए । आइतबारको मतदानमा जम्माजम्मी ३१ प्रतिशत मत खसेको हो । चैत ५ गते मतदान भएको खण्डमा झन्डै ५ हजारको हाराहारीमा मत खस्ने अनुमान थियो । दुई दिनसम्म लगतार मतदान नभएपछि मत हाल्नलाई टाढाबाट आएका विद्यार्थी फर्किए । आजको मतदान हुन्छ की हुदैन भन्ने अन्योलले कम मत खसेको हो ।
चैत ५ गते मतपत्र छपाईमा त्रुटि भएपछि स्थगीत भएको थियो । निर्वाचन समितिले मतपत्रमा अखिल छैठौंको तर्फबाट सभापतिको उम्मेदवार बनेका मिलन सुनारलाई मतदान गर्नलाई कोष्ट नराखेपछि विवाद सिर्जना भएर स्थगित भयो ।
चैत ६ गते मतदानको तयारी भएपनि निर्वाचन समितिको कार्यालयमा तालाबन्दी भएसँगै सरेर आइतबार मतदान भएको हो । चैत ५ गते साँझ संयुक्त प्यानलसहित अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेको थियो ।
स्ववियु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् । सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् । अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् ।
स्ववियु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सचिवमा ५ जना, कोषाध्यक्षमा ५ जना र ४० जना सदस्य पदका उम्मेदवार छन् । समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवार पनि चुनावी मैदानमा होमिएका छन् ।
दुई वर्षे कार्यकालका लागि २१ सदस्यीय स्ववियु समिति निर्वाचित हुनेछन् । सभापति, सचिव र कोषाध्यक्षसहित ११ जना प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् ।
२०२१ सालमा गणेश शेरचन सर्वसम्मत पिएनको स्ववीयुु सभापति बनेका थिए । अन्तिम पटक रश्मी आचार्य २०६५ सालमा पिएनको स्ववीयु सभापति बनेका हुन् । त्यसता स्ववीयु निर्वाचन हुन सकेको छैन । एमाले निकट अनेरास्ववियुको पकडका रुपमा पिएन चिनिन्छ ।