पोखरा
मतपत्र छपाईमा त्रुटि भएपछि सुरु हुन नसकेको पोखराको पृथ्वीनारायण क्याम्पस (पिएनसी) को स्ववियु निर्वाचनको मतदान बुधबार हुने भएको छ । पिएन क्याम्पसको स्ववियु निर्वाचन समितिले बुधबार विहान ८ बजेदेखि सुरु हुने जनाएको हो ।
मंगलबार दिनभर पिएन क्याम्पसको माहोल निकै तातेको थियो । विभिन्न संगठनहरु नाराबाजिमा उत्रिएका थिए । मतदान गर्न पुगेका विद्यार्थी अन्योलमा थिए ।
निर्वाचन समितिको गम्भिर लापरवाहीले मतपत्र त्रुटि भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले विरोध गर्दा मतदान सुरु भएको थिएन । निर्वाचन समितिले मतपत्रमा अखिल छैठौंको तर्फबाट सभापतिको उम्मेदवार बनेका मिलन सुनारलाई मतदान गर्नलाई कोष्ट राखिएको थिएन। यसलाई निर्वाचन समितिले आत्मालोचना गरेको जनाएको छ ।
`पृथ्वीनारायण क्याम्पस, पोखरा मतदान केन्द्रमा स्ववियुको निर्वाचन आज मिति २०८१।१२।०५ गते विहान ८ बजे मतदान सुरु गर्ने प्रक्रियामा प्रत्यक्ष तर्फको मतपत्रको दोस्रो कोलममा रहेको अखिल (छैठौं) को अध्यक्ष पदको उम्मेदवारको नामको पछाडि रेजा लगाउने बक्स छुट हुन गएकोमा यस स्ववियु निर्वाचन समिति गम्भिर रुपले आत्मआलोचित भएको छ´, निर्वाचन अधिकृत प्राध्यापक डा. रामचन्द्र पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।
सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारको प्रतिनिधिको रायबमोजिम मतपत्र रद्ध गरी पुनः मतपत्र छपाई गरी ल्याउँदा ढिला भएको उनले बताए । समय अभावका कारण मतदान कार्य सुरु गर्न नसकिएको बुधबार विहान ८ बजेदेखि सुरु हुने जानकारी उनले दिए । मतदान गर्ने कार्यमा सहयोग गरिदिनुहुन सम्बन्धित संघ, संगठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवार ए विद्यार्थी मतदातालाई निर्वाचन समितिले अनुरोध गरेको छ ।

पृथ्वीनारायण क्याम्पसमा नौ हजार २७० मतदाता रहेका छन् । स्ववीयु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन् ।
सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् । अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् । स्ववीयु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सचिवमा ५ जना, कोषाध्यक्षमा ५ जना र ४० जना सदस्य पदका उम्मेदवार छन् । समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (बैध) का उम्मेदवार पनि चुनावी मैदानमा होमिएर प्रतिस्पर्धा गर्दैछन्।
२ वर्षे कार्यकालका लागि २१ सदस्यीय स्ववीयु समिति निर्वाचित हुनेछन् । सभापति, सचिव र कोषाध्यक्षसहित ११ जना प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् ।
उपाध्यक्ष, उपसचिव र ८ जना सदस्य समानुपातिक प्रणलीबाट निर्वाचित हुनेछन् । पिएनको स्ववीयु निर्वाचनलाई नेता उत्पादन गर्ने कारखानाको रुपमा समेत हेरिन्छ । यहाँको निर्वाचन परिणाम दलहरुको प्रतिष्ठाको विषय बन्छ ।
२०२१ सालमा गणेश शेरचन सर्वसम्मत पिएनको स्ववीयुु सभापति बनेका थिए। अन्तिम पटक रश्मी आचार्य पिएनको २५ औं स्ववीयु सभापति बनेका हुन् । एमाले निकट अनेरास्ववियुको पकडका रुपमा पिएन चिनिन्छ ।