बिमाले उपचार गराउन नसके समाजवाद ल्याउन सक्दैनौंः स्वास्थ्यमन्त्री पौडेल

दुलेगौंडा–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिमाले बिरामीको आवश्यकता अनुुुसार उपचार गराउन नसक्ने हो भने नेपालमा समाजवाद ल्याउन नसकिने जिकिर गरेका छन् । नेपालको संविधानमा स्वास्थ्य नागरिकको अधिकारको रुपमा उल्लेख गरेकाले कार्यन्वयन गर्नुपर्ने उनको भनाइ छ ।

उनले बिमालाई एक लाख रुपैयाँबाट बढाएर ५ लाख रुपैयाँको पु¥याउने तयारी भइरहेको बताए । त्यसका लागि सरकार एक्लैले नसक्ने भएकाले नागरिकको योगदानमा आधारित बिमा प्रणाली विकास गर्नुर्ने मन्त्री पौडेलको भनाइ छ ।

‘धेरैले भन्नुहुन्छ एक लाखको यो स्थिति छ ५ लाख कसरी हुन्छ ? यो स्थिति भएको कारण यसको सुरक्षित कोष छैन । सरकारले जम्मा साढे ७ अरब मात्रै दिने भनेर भनेको छ । म स्वास्थ्य मन्त्री भएपछि हामीले झन्डै साढे १० अरब भुक्तानी गरिसक्यौं’, उनले भने, ‘त्यो भुक्तानीबाट जम्मा असारसम्मको मात्रै भएको हो । गएको असारदेखि अबको असारसम्म सबै भुक्तानी गर्दा ४० अरब गर्नुपर्ने हुन्छ । सरकारले दिन्छु भने जम्मा साढे ७ अरब मात्रै हो ।’

सरकारले भनेको भन्दा ६ गुना बढी तिर्नुपर्ने भएपछि स्वास्थ्य बिमा व्यवस्थि बन्न नसक्ने मन्त्री पौडेलको तर्क छ । ‘यो समयमा उपलब्ध हुन सक्दैन । त्यसैले यसको सुरक्षित कोष निर्माण गर्न जरुरी छ । हामीले प्रस्ताव गरेका छौं अब नागरिकको योगदानमा आधारित बिमा प्रणाली विकास गर्नुपर्छ’, तनहुँको दुलेगौंडास्थित पञ्चमुनिदेव माविको ५५ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘अब छिरलिएर विभिन्न शीर्षकमा होइन बिमा कोषले सबै बिरामीहरुलाई बिमामार्फत सेवा उपलब्ध गराउने स्थिति हुनुपर्छ । एकीकृत ढंगले एकद्वार प्रणालीबाट बिमाको व्यवस्थापन गरिनुपर्छ ।’

उनले तनहुँको बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शैय्याको बनाउन पूर्वाधार र उपकरण सहयोग गर्न मित्र राष्ट्र भारतसँग सहमतिको प्रक्रिया अगाडि बढेको बताए ।

मन्त्री पौडेलले स्वास्थ्य सचेतना बढाउनुपर्नेमासमेत जोड दिए । स्वस्थ्य हुनका लागि आहार व्यवहारमा ध्यान दिनुपर्ने मन्त्री पौडेलको सुझाव छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.