रूकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ। आइतबार अपराह्नमा बाफिकोट गाउँपालिकामा पहिरो खस्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नमराज भट्टराईले जानकारी दिए।
पहिरोमा पुरिएर सोही गाउँपालिका वडा नम्बर ७ की ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय कालीबहादुर खड्काको मृत्यु भएको हो। सोही ठाउँकी ४२ वर्षीया बलकुमारी खत्री घाइते भएकी छन्। उनको उपचार भइरहेको छ।
धनमाया र कालीबहादुर अपराह्नमा बास्थलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका थिए। तर एक्कासि आएको पहिरोमा परी उनीहरूको घटनास्थलमै मृत्यु भएको डिएसपी भट्टराईले बताए।
पहिरो खसेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसको एक घन्टापछि प्रहरी घटनास्थलमा पुगेको थियो। घटनास्थल नजिकको प्रहरी चौकीबाट एक घन्टाको दुरीमा छ।