भद्रपुर, झापा । भारतीयलाई ‘नेपाली नागरिकता बनाइदिन्छु’ भन्दै रकम उठाउने एक भारतीय नागरिक पक्राउ परेका छन् ।
झापाको दमकमा डेरी गरी बस्दै आएका भारतको विहार राज्य दरभंगा जिल्ला अलिनगर ग्राम पञ्चायतका २७ वर्षीय मुकेश ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।
ठाकुरले दमक नगरपालिका-९ स्थित लक्ष्मी टोलमा डेरा गरी बस्ने भारतीय नागरिकहरू खगमाया बाँस्कोटा, सुमन मुखिया र युवराज मण्डललाई नेपाली नागरिकता बनाइदिने आश्वासन दिएको र त्यसबापत उनले जनही एक/एक लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।
ठाकुरलाई नगद रकम बुझाए पनि नागरिकता पाउने अवस्था नदेखेपछि ठगिएकाहरूले नै प्रहरीमा उजुरी दिएको बताइन्छ । पक्राउ परेका ठाकुरले भारतीय नागरिकबाट उठाएको रकम शैलेन्द्र भुजेललाई बुझाएको प्रहरीलाई बताएका छन् ।
ठाकुरलाई ठगी मुद्दामा झापा जिल्ला अदालत भद्रपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।