पाल्पा- निरन्तरको अविरल वर्षाका कारण पाल्पास्थित सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोरको आवागमन अवरुद्ध भएको छ । वर्षाका कारण उक्त सडकको विभिन्न स्थामा पहिरोले सडक बन्द भएको हो । राजमार्गको माथिल्लो भागबाट खसेको लेदो र गेग्र्यानले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो । सडक विस्तारका क्रममा फालिएको गेग्रान बगेर आउदाँ राजमार्गको माथागढी गाउँपालिका-१, चिदीपानीस्थित धैरेनीमा सडक अवरुद्ध छ । सोही राजमार्गको बगनासकाली गाउँपालिका-४, सेरामा पनि माथिल्लो भागबाट गेग्रान र लेदोसहितको पहिरो खसेर सवारी आवागमनमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए ।
यस्तै तानसेन बुटवल खण्डको डुम्रेमा पहिरोले गर्दा एकतर्फी रुपमा मात्र सवारी संचालन भएको प्रहरीले जनाएको छ । पहिरो पन्छाएर दुवैतर्फी सवारी सञ्चालनको प्रयास भने जारी छ । तर पानी परिरहँदा पहिरो खस्ने क्रम नरोकिएको हुँदा आवागमनमा समस्या भएको यात्रुहरुले बताएका छन् । कालीगण्डकी करिडोरस्थित पिपलडाडा रामपुर खण्डको सर्दीखोला नजिकै खसेको पहिरोले सडक पूणर् रुपमा बन्द भएको प्रहरीले जनाएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको हुँदा लामो तथा छोटो दूरीका लागि छुटेका सवारी समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।