स्याङ्जा- परम्परागत खेती मासेर स्याङ्जाका कृषक फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । उत्पादनको लागतभन्दा आम्दानी कम हुने भएपछि धानगहुँ मकै लगाउने खेतबारी मासेर अहिले चापाकोटका कृषकहरु आँप लिची लगाउन थालेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आँप-लिची जोन स्याङ्जाले क्षेत्र बिस्तार कार्यक्रम अघि सारेसँगै यहाँका कृषकले खेती नै परीवर्तन गर्न थालेका छन् । धान, गहुँ, मकैजस्ता परम्परागत बालीको लागत बढ्ने तर राम्रो आम्दानी नहुने भएपछि स्याङ्जाका कृषक फलफूलजन्य खेतीमा आकर्षित हुन थालेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आँप-लिची जोन स्याङ्जाले क्षेत्र बिस्तार कार्यक्रम अघि सारेसँगै चापाकोटका कृषक आँप र लिचीको व्यवसायिक खेतितर्फ आकर्षित भएका हुन् । जोनले पहिलो चरणमा चापाकोटको दशवटा सबै वडामा लागू हुने गरी दश हजार आँप र छ हजार लिचीको बिरुवा कृषकको ५० प्रतिशत साझेदारीमा वितरण गरेको सहायक परियोजना कार्यन्वयन इकाइ स्याङ्जाका नायब प्राविधिक संगिता कुमालले बताए । परम्परागत बालीको बजार मूल्य यथावत हुने तर लागत बढ्ने कारण ३४ रोपनी क्षेत्रफलमा आँप-लिची लगाइएको चापाकोट-९ का कृष्ण प्रसाद खनाल बताउछन् ।
आँप-लिची जोनले चापकोट नगरपालिकासहित गल्याङ नगरपालिकाको १ २ ३ ९ र ११ नं वडालाई क्षेत्र विस्तार गर्ने कार्यक्रम अघि सारेको छ । ४२ लाख रुपैयाँको लागतमा संचालित कार्यक्रमअन्तर्गत गल्याङमा १५ हजार बिरुवाको माग रहेको र यसलाई दोस्रो चरणमा वितरण गरिने जोनका प्रमुख माधब लम्सालको भनाई छ । यो कार्यक्रम लागू भएका स्थानीय तहले कृषक पहिचान, छनौट र बिरुवा वितरणमा समन्वय गर्नेछ भने जोनबाट अपूग भएको रकममा आर्थिक साझेदारी गर्नेछ । यो खेतीले तत्कालै उत्पादन नदिएपनि पाँच बर्षपछि जिल्लालाई आँप-लिचीमा आत्मनिर्भर बनाउनेमा कृषकहरु निश्चिन्त देखिन्छन् ।