तनहुँ खबर

जातीय विभेद गरेको अभियोगमा घरभेटी पक्राउ

दाङ । दाङमा जातीय विभेद गरेको अभियोगमा एक घरभेटी पक्राउ परेका छन् । आफ्नो घरमा भाडामा बसेकाहरू दलित भएको थाहा पाएर घरभेटीले घरबाट निकालेपछि घोराही उपमहानगरपालिका १७ निवासी ताराप्रसाद पोखरेललाई दाङ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले पक्राउ परेका घरभेटी पोखरेलमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिए । पक्राउ परेका पोखरेलको घरमा बसिरहेका अछाम पञ्चल देवल न.पा.७ पुल्तोला घर भई हाल घोराही १७ मा बस्दै आएका महेन्द्र बिक र हुम्ला अदानचूली गा.पा.३ हुम्लाका अङ्गराज परियारलाई लाई घरभेटी पोखरेलले घर निकाला गरेका थिए । दलित भएकै कारण घर निकाला गरेपछि पीडितहरूले दाङ प्रहरी समक्ष जाहेरी दिएका थिए ।

घरभेटी पोखरेलले शुक्रबार साँझ भाडामा बसेकाहरूलाई त्यस्तो व्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरीले पोखरेलमाथि जातीय छुवाछूत विरुद्धको कसुरमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । प्रेस सेन्टर नेपाल दाङ, दलित पत्रकार संघ दाङ लगायत विभिन्न सङ्घसंस्थाले विज्ञप्ति जारी गरी घटनाप्रति विरोध जनाउँदै दोषीमाथि कारवाहीको माग गरेका छन् ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!