तिला- बजारबाट चामलको बोरा लिएर घरतर्फ जाँदै गरेका जुम्लाका एक किशोर पुलबाट खसेर नदीमा बेपत्ता भएका छन्। जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर १७ वर्षीय किशोर तिला नदीमा बेपत्ता भएका छन्। मंगलबार बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।
बेपत्ता हुनेमा तिला-६ निवासी घोडे गाउँका कणर्बहादुर रोकाका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। तिला-१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा अस्थायी पुलबाट चिप्लिएर नदीमा खसेको खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्। तिला नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन्।