दुलेगौँडा । शुक्लागण्डकी नगरपालिका अन्तर्गत रहेका माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यापन गराउदै आएका शिक्षकहरुले अधिकार प्राप्तीका लागि नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
साविकको उच्च माध्यमिक तहमा कार्यरत रहेको शिक्षकहरुलाई राज्यले दरवन्दीमा नराखी करारमा खटाईरहेको तर्फ जानकारी दिदै अन्य कर्मचारीले पाउने भईपरि आउने विदाका विषयलाई मनन गर्न हिस्टुन(माध्यमिक विद्यालय शिक्षक युनियन) शुक्लागण्डकीले आग्रह गरेको छ ।
हिस्टुनमा आवद्ध रहेको शिक्षकहरुको नेतृत्व गर्दै अध्यक्ष रामचन्द्र घिमिरेले नगर शिक्षा शाखा प्रमुख नवराज चापागाईलाई ज्ञापन पत्र बुझाए । पत्रमा कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकको कामको बोझ र पाउने सुविधालाई मनन गर्न आग्रह गरिएकोको हिस्टुन शुक्लागण्डकीका कोषाध्यक्ष रोशन हमालले जानकारी दिए ।