तनहुँ
नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीप्रति जनताको उत्साह झनै थपिएको बताएका छन् । हालै सम्पन्न उपनिर्वाचनले माओवादीप्रति जनताको विश्वास झनै बढेको उनको भनाइ छ । ‘माओवादी सकिएन झनै उठ्यो’, माओवादी सकिन्छ भन्नेप्रति लक्षित गर्दै उनले भने ।
मंगलबार नेकपा माओवादी केन्द्र शुक्लागण्डकीको दोस्रो नगरसभालाई सम्बोधन गर्दै श्रेष्ठले हार व्यहोरेका स्थानमा पनि मत बढाएको जिकिर गरे । ‘जहाँ जित्यौं त जित्यौं । जहाँ हामीले हा¥यौं त्यहाँ पनि भोट हिजो भन्दा बढ्यो’, उनले भने, ‘अरु भन्दा हामी माथि गयौं । यसले के संकेत गर्छ भने माओवादी अब फेरी नयाँ ढंगले अघि बढ्दैछ । जनताको साथ विश्वास लिएर अगाडि बढ्दैछ । र शक्तिशाली पार्टी बन्दैछ ।’
जनताको मनोभावनालाई समेट्न एकताबद्ध भएर अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए । जनताकोबीचमा जाने योजनालाई पार्टीले प्राथमिकता दिने उनको भनाइ छ ।
माओवादी केन्द्र सरकार ढालेर आफू जाने खेलमा नलागेको उनले प्रस्टाए । देश र जनताको पक्षमा काम गर्न सकिने अवस्थामा मात्रै माओवादी सरकारमा जाने उनको दाबी छ ।
‘प्रधानमन्त्री हुन उपप्रधानमन्त्री हुन मन्त्री हुन हामी सरकारमा जाने होइन । काम गर्ने अवसर पाउन सकिन्छ भने गएर गर्ने हो । काम गर्ने अवसर पाइदैन भने झन्डा हल्लाउन मात्रै सरकारमा जाने हाम्रो नीति छैन’, पूर्वउपप्रधानमन्त्री श्रेष्ठले भने, ‘जसरी हुन्छ सरकार हटाउने र जसरी हुन्छ हामी सरकारमा जानेवाला छैनौं । तर, यो सरकारले देश चलाउन सक्दैन । देशले यो सरकारलाई व्यहोर्न सक्दैन ।’
उनले देशको स्थित गम्भिर मोडमा पुगेको खण्डमा सरकारमा गएर जनताको पक्षमा काम गर्ने सुनाए । सरकारमा सहभागी भएर पनि माओवादी मन्त्री टिकाइराख्ने खेलमा नलाग्ने श्रेष्ठको भनाइ थियो ।
‘देश र जनताको पक्षमा काम गर्दा हट्न पनि तयार । जस्तौ भनौंन, हाम्रो सरकारले नेपाली कांग्रेसका ठूलामध्यका एक नेता जो पूर्वगृहमन्त्री उनलाई कारबाही गरेको होइन हामीले ? त्यतिखेर मन्त्रीबाट हट्न पर्छ की ! हाम्रो सरकार पनि उनीहरुले ढाल्छन् की भनेर डराएर हामीले त्यो काम नगरी बसेनौं’, उनले भने ।
अब माओवादीले वेपत्ता शहीद परिवारले परिवर्तनको महशुस गर्नेगरी काम गर्नुपर्नेमा उनको जोड छ । देश फड्को मार्ने गरेर सुशासनको पक्षमा काम गर्दा माओवादीलाई सरकारबाट हटाएर वर्तमान गठबन्धन बनेको उनको आरोप छ ।
सरकारले पक्राउ गरेको भ्रष्टचारीलाई रक्षा गर्नुपर्ने भएपछि कांग्रेस एमाले मिलेर नयाँ गठबन्धन बनाएको माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बताउँछन् । भ्रष्टचारी अनुसन्धान भएर पोल खुल्दै जाँदा आफूसम्म पनि प्रहरी आइपुग्ने भए कांग्रेस एमालेका नेतामा देखिएको उनी सम्झन्छन् ।‘उनीहरुले भ्रष्टाचार गर्थे । भ्रष्टाचार गर्ने ठाउँबाट केही समय आफू वञ्चित भएको त्यो भ्रष्टाचार गर्ने थलो फेरी चाहियो भन्न थालें’, उनले उल्लेख गरे ।
घटनाक्रमले नै भ्रष्टाचारीको पक्षमा सरकार रहेको पुष्टि गरेको श्रेष्ठको जिकिर छ । ‘हामीले ललिता निवास काण्डमा मुद्वा चलाएर विशेष अदालतले दुई बर्ष कैद सजाय गरेर बिगो जरिवाना गरेको मान्छे जो अहिले सर्वोच्च अदालतमा मुद्वा छ । त्यही मान्छेसँग दान भनेर अरबौंको जग्गा आफ्नो पार्टीलाई घडेरी लिने । घर पनि उसैले बनाइदिने । यही त हो भ्रष्टाचारको नयाँ तरिका भनेको’, नेकपा एमालेप्रति लक्षित गर्दै नारायणकाजीले भने ।
संगठित गिरोहको योजनामा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई सफाइ दिएर वर्तमान सरकारले भ्रष्टाचारको अर्को नमुना पेश गरेको उनको भनाइ थियो । पैसा तिरेर जापन पुग्न लागेकालाई कारबाही गरेर नेतालाई सफाइ दिन नमिल्ने उनले बताए । ‘यो भन्दा गएगुज्रेको नालायक सरकार पनि हुन्छ ? जसले भ्रष्टाचारीलाई यसरी रक्षा गर्छ । व्यवहारबाटै पुष्टि भइराखेको छ नि’, उनले भने ।