दुलेगौंडा– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ म्याग्दे खोलाको किनारमा निलो पोखरी बनेको छ । खोलामा आएको बाढीले पोखरी बनेको होइन । अवैध तरिकाले ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्नलाई डोजर चलाएपछि गहिरो पोखरी बनेको हो ।
पोखरी बनाएर खाल्डो पारेर झिकेको ढुंगा, गिट्टी, बालुवा कहाँ राखिएको छ ? यसको जवाफ कोहीसँगै छैन । नेपाली फिल्म लुटको गीत ‘आँखा झिमिक्क मालसामान गायब’ जस्तै भएको छ । वडाका जनप्रतिनिधिले ७५ टिप उत्खनन् गरेको भनिएको ढुंगा, गिटी, बालुवा नजिकैको क्रसर छेउमा मौज्दात छ । तर, त्यहाँ मुस्किलले ३० टिप मात्रै देखिन्छ । त्यो पनि स्थानीयवासी, नागरिक समाज, अभियन्ताहरुको विरोधपछि मात्रै बाँकी रहेको हो ।

म्याग्दे खोला उत्खनन् गरेर बनाइएको पोखरी । तस्बिरः विनोद ढुंगाना
उत्खनन् गरेर बनाइको खाल्डोको उचाई २ मिटर गहिरो मात्रै हुदाँ पनि त्यहाँबाट चानचुन आठ सय घनमिटर बढी उत्खनन् भएको छ । सडक निर्माणका लागि उपभोक्ता समितिले नगरपालिकासँग उत्खनन्को अनुमति लिएको छैन । खैरेनीटार– टुँडा रिङरोड उपभोक्ता समितिका अध्यक्ष मनबहादुर पुन ‘हमाल’को उत्खनन्मा मुख्य मिलेमतो देखिन्छ । त्यसमा वडाध्यक्ष खड्गसिंह थापाले साथ दिएका छन् ।
शुक्लागण्डकी नगरपालिकाको नगरस्तरीय योजना खैरेनीटार टुडा रिङरोड निर्माणका लागि म्याग्दे खोला खनिएको हो । रिङरोडको काम सुरु हुनुपहिले नै खोलामा जेसिबीले खन्न थालियो । खनेर थुपारिएको सेतो सुन (ढुंगा, गिट्टी, बालुवा) अहिले एकअर्थमा गायब छ ।

उत्खनन् गरेर बनाइएको पोखरीमा ढुंगा खस्दा बनेको छाल । तस्बिर : विनोद ढुंगाना
मनबहादुर पुन ‘हमाल’अध्यक्ष रहेको उपभोक्ता समितिले पुस १६ गते शुक्लागण्डकी नगरपालिकासँग खैरेनीटार टुडा रिङरोड निर्माणका लागि सम्झौता ग¥यो । बाटोको स्तरोन्नती र खोलाको कटान रोक्ने उदेश्यले झन्डै महिना दिन पहिले काम सुरु भयो । ढुंगा, गिटी, वालुवाको उत्खनन्पछि झमेला हुने भएकाले काम सुरु हुदाँ शुक्लागण्डकी नगरपालिका–७ का वडा सदस्य गिरबहादुर थापालाई पठाइयो । उनी उपस्थित भएर गन्दा ७५ टिप उत्खनन् भएको बताउँछन् । अहिले खाल्डो मात्रै छ, खनिएको पूरै ढुंगा, गिटी, बालुवा छैन ।

वडासदस्य थापाका अनुुसार खोलाको बीचबाट ढुंगा, गिट्टी, बालुवा ल्याएर धार फेर्ने भनिएको थियो । त्यहाँबाट निस्किएको मालले जाली हाल्ने निर्णय हो । पछि विवादमा तानिन सक्ने सम्भावना देखिएर उनी त्यहाँ नगएको बताउँछन् । उनका अनुसार यो भन्दा पहिले पनि त्यहाँ योजनाको काम गर्दा ढुंगा, गिट्टी, बालुवा हराएको थियो ।
वडाध्यक्ष खड्गसिंह थापाका अनुसार खोला उत्खनन् गर्नलाई नगरपालिकाबाट अनुमति लिइएको छैन । न त उत्खनन्का लागि ठेक्का लगाइएको हो । ‘ठेक्काको कुरो होइन । त्यो खोलामा जाली ग्याबिन हाल्नुप¥यो भनेर काम गरेको । पछि धेरै विरोध आएर बन्द गर्देको हो’, वडाध्यक्ष थापाले भने । प्राविधिक स्टेमेट अनुसार खोलाको माल झिकेर सडकमा हाल्ने योजना रहेको उनले सुनाए । उनले अहिले खोला हिँडिरहेको स्थान बाटो रहेको बताए । माल निकालेको ठाउँमा खोलाघर भएको वडाध्यक्ष थापाको भनाइ छ । स्टेमेटमा त्यहाँको माल त्यही प्रयोग गर्ने उल्लेख भएको उनको दाबी छ । निकालिएको माल कहाँ छ ? उनी गैरजिम्मेवार जवाफ दिन्छन् । कति निकालियो, कहाँ लगिएको भनेर केही मेसो नपाएको उनले भनाइ थियो ।

उत्खनन् गरेको ७५ टिपमध्ये बाँकी रहेको ढुंगा, गिट्टी, बालुवाको मौज्दात । तस्बिरः विनोद ढुंगाना
उपभोक्ता समितिका अध्यक्ष मनबहादुर पुन ‘हमाल’ले उत्खनन् गरेर खोलाको धार फर्काउने र माल मौज्दात राख्ने योजना रहेको सुनाए । उनको भनाइ अनुुसार कटान रोख्न तारजाली पनि झारिएको छ । ‘खेरा जान भन्दा थुपारेर राख्दिने । राखेपछि नगरपालिकाले अनुगमन आएर नाप्छ, लान्छ । नभए हामीलाई त्यहाँ बाटोमा आधा चाहिन्छ’, उनले भने । उनले वडा सदस्य गिरबहादुर थापा बसेरै ७८ टिप बढी उत्खनन् गरेको बताए ।
हामीले माल खोइ भनेर प्रश्न गर्दा उनी भन्छन्, ‘माल त हेर्न जान पर्छ त्यही छ । जुन लग्यो भनेर आशंका गरेको मान्छेलाई किन त्यो गरेको भनेको होइन मेरो गाडी गाथ्यो त्यता डोजर थ्यो । फर्कने बेलामा दुईचार टिप ल्याको हो कन्फर्म हो । त्यो लान पर्छ भनेपनि म लान्छु भन्छ उसले ।’ कसले लगेको भन्दा लैजानेको नाम उनले खुलाएनन् । उनले फर्काउन परे फर्काउन तयार रहेको दोहो¥याईरहे । उनले गैरजिम्मेवार प्रतिक्रिया लिए, ‘लान त कता लगे थाहा भएन । मैले किन लगेको भन्दाखेरि ? बाटो प¥यो भनेको छ ।’ आफूसँग लैजाने मान्छे सम्पर्कमा रहेको तर, कस्ले लगेको थाहा नभएको बताए ।

पोखरी नजिकै रहेको ढुंगा, गिट्टी, बालुवाको थुप्रो । तस्बिरः विनोद ढुंगाना
एक स्थानीयका अनुसार त्यहाँबाट धमाधम टिपरमा ढुंगा, गिट्टी, बालुवा चोरेर लगिएको हो । दिउँसै त्यहाँबाट ओसारपोसार भएको थियो । विवाद भएपछि त्यहाँबाट लैजान रोकिएको उनले बताए । ‘हामीलाई थाहै नदिइकन खनियो । पछि अन्तै लगेको देखेपछि विरोध गरेर लैजान रोकिएको हो’, उनले भने ।
पछिल्लो एक हप्तादेखि म्याग्दे खोलाको उत्खनन्को विषयले सामाजिक सञ्जाल गर्माएको छ । तर, नजिकै रहेको वडाध्यक्ष र कर्मचारी निरक्षिणका लागि नपुगेको बताउँछन् । उत्खनन्को बेला उपस्थित भएका वडासदस्य गिरबहादुर थापाले निकालेको जति परिणाममा नरहेको बताए । शुक्लागण्डकी नगरपालिकालेसमेत उत्खनन्को विषयमा चासो नदिएपछि स्थानीयले मिलेमतोको आशंका गरिरहेका छन् ।

म्याग्दे खोला र सडक बनाउने भनिएको स्थान । तस्बिर : विनोद ढुंगाना