दुलेगौंडा-
मोटरसाइकलको ठक्करबाट तनहुँमा एक पैदलयात्रीको मृत्यु भएको छ । शनिबार विहान पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिनामा मोटरसाइकलले सडक पार गर्ने क्रममा ठक्कर दिएको हो ।
मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–११ अलैंचेकी ५५ वर्षीया देवीमाया विक रहेकी छन् । उनी छोरीको घर जानका लागि बाटो पार गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएको हो ।
म्याग्दीको बेनीबाट चितवनतर्फ जादै गरेको ग १४ प ४९५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि विक घाइते भएकी थिइन् । घाइते अवस्थामा उद्धार गरेर तत्कालै बेलचौतारामा रहेको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले बताए ।
देवीमायाको शवलाई जिल्ला अस्पताल दमौली लगिएको छ । पोस्टमार्टमको तयारी भैरहेको डिएसपी थापाको भनाइ छ ।
मोटरसाइकल चालक बेनी नगरपालिका–७ का ४२ वर्षीया प्रेम बहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्षतिपूर्तिका सम्बन्धमा मृतकका आफन्त र चालकबीच छलफल भइरहेको छ ।