भीमादका पूर्व मेयर मेखबहादुर थापाको निधन

दुलेगौंडा– भीमाद नगरपालिकाका पूर्वमेयर मेखबहादुर थापाको निधन भएको छ । सोमबार दिउँसो उपचारको क्रममा थापाको निधन भएको हो । थापा ५५ वर्षको उमेरमा अस्ताएका छन् ।

थापाको सोमवार किष्ट हस्पिटल काठमाडौंमा उपचारको क्रममा निधन भएको नेकपा एमाले भीमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापाले बताए । पछिल्लो समय थापा कलेजोको समस्याबाट ग्रसित थिए ।

सोमबार मात्रै उनको कलेजो प्रत्यारोपण गर्ने चिकित्सकले तयारी गरेका थिए । छोरी निशा थापाले बुवालाई कलेजो दान दिन सहमत भएकी थिइन् । आइतबार साँझ सिकिस्त भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा मृत्यु भएको हो ।

थापाको शव आज रातीसम्म भीमाद–२ स्थित निवासमा ल्याइनेछ । भोलि श्रद्धाञ्जलीका लागि नगरपालिकामा पूर्वमेयर थापाको पार्थिव शरीरलाई राखिनेछ । भोलि नै भीमादस्थित सेती नदी किनारमा अन्त्येष्टि गर्ने तयारी छ ।

मेखबहादुर २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट भीमाद नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनकी धर्मपत्नीको भोविमाया थापाको गएको फागुन २३ गते मिर्गौलाको समस्याको कारणले मृत्यु भएको थियो । पत्नी गुमाएको डेढ महिनापश्चात् मेखबहादुरको पनि निधन भएको छ । मेयर थापाका १ छोरा र १ छोरी छन् ।

थापाको निधनप्रति नेकपा एमाले गण्डकी प्रदेशका इन्चार्जसमेत रहेका किरण गुरुङले दुख व्यक्त गरेका छन् । गण्डकी प्रदेश कमिटीका सदस्य थापाको निधनको खबरले स्तब्ध तुल्याएको उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.