आदिवासी जनजातिलाई मातृभाषामा रेडियो कार्यक्रम चलाउने तालिम

दुलेगौंडा– आदिवासी जनजातिलाई मातृभाषामा रेडियो कार्यक्रम सञ्चालन गर्ने तालिम दिइएको छ । नेपाल आदीवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्को आयोजनामा ६ दिने मातृभाषामा रेडियो कार्यक्रम तालिम दिइएको हो ।

तालिमको सोमबार समापन गरिएको छ । तालिम समापनको अवसरमा बोल्दै नेपाल आदीवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्का सल्लाहकार संयोजक एवम शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य खिमबहादुर कुमालले सिकाइलाई व्यवहारमा उतार्नुपर्ने बताए ।

सरकारले लगानी गरेपनि पैसा जनताले तिरेको करबाट विनियोजन हुने उनको भनाइ थियो । आदिवासी जनजाती समुदाय नीति निर्माण तहमा नपुगेसम्म भाषा संरक्षणमा राज्यले ध्यान नदिने उनको तर्क थियो ।

शुक्लागण्डकी नगरपालिका– ७ का वडाध्यक्ष खड्गसिंह थापाले पहिचानको संरक्षण गर्दै आदीवासी जनजातिको पक्षमा बोल्नुपर्नेमा जोड दिए ।

आदीवासी जनजाती महासंघ गण्डकी प्रदेश समन्वय परिषद्का सचिव एवम कार्यपालिका सदस्य विमल जिसीले मातृभाषा संरक्षणमा उर्जा थप्नुपर्ने बताए । भाषा जगेर्ना र जनमानसमा ल्याउनुपर्नेमा उनको जोड थियो । विद्यालयस्तरमा शिक्षा दिनलाई राज्यसत्ता समक्ष आवाज पु¥याउनुपर्नेमा जिसीको जोड छ ।

कार्यक्रम संयोजक बिर्सना श्रेष्ठले मातृभाषा जोगाउने उदेश्यले कार्यक्रम गरेको बताइन् । अरुलाई पनि आफ्नो भाषा संस्कारबारे बुझाउनुपर्ने उनको तर्क छ । भेषभुषा, संस्कार सँस्कृती जोगाउन आदावासी जनजाति समुदाय अग्रसर रहेको उनले सुनाइन् ।

आदीवासी जनजाती महासंघ शुक्लागण्डकी नगर समन्वय परिषद्का उपाध्यक्ष कूलकुमार कुमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिवालय सदस्य अमरराज थापाले गरेका थिए ।

तालिममा गुरुङ, मगर, नेवार, तामाङ, कुमाल, भुजेल समुदायका ९ जनाको सहभागिता रहेको थियो । तलिमका सहभागीले अब कला,संस्कृति र भाषा संरक्षणमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.