पोखरा
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दुईटा ठूला पार्टी मिल्नेवित्तकै मनपरी गर्छु भन्ने ठानेको भए सम्भव नरहेको भन्दै चेतावनी दिएका छन् । अहिलेको सरकारले देशलाई लुट्दै विचौलियालाई फाइदा पु¥याउन अध्यादेश ल्याएको टिप्पणी गरे । ‘संसदको अधिवेशन छल्न खोजेर रातारात अध्यादेश ल्याउनुपर्ने आवश्यकता के थियो ?’, उनले प्रश्न गरे ।
शनिबारदेखि पोखरामा सुरु नेकपा एकीकृत समाजवादी पार्टी गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा शासकले देखाइरहेको प्रत्येक रवैयाले शासकहरुको लोकप्रियतामा ह्रास आइरहेको बताए । ‘र उनीहरुप्रति जनतामा वितृष्णा पैदा भइरहेको छ । त्यतिमात्रै होइन राजनीतिप्रति पनि वितृष्णा पैदा हुने स्थिति बनिरहेको छ । यो मामिलामा हाम्रो पार्टी गम्भिर हुनुपर्नेछ’, उनले भने ।
नेकपा एकीकृत समाजवादीलाई गल्ती गर्ने छुट नभएको उनले बताए । पवित्र उदेश्य भएकाले आफ्नो पार्टीले तंरग पैदा ल्याउन सक्ने उनको चेतावनि छ । सत्तामा अहिले कम्युनिष्ट पार्टीकै मान्छे भएपनि मति विग्रेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ ।
‘सत्तामा उही पुरानो हाम्रो पार्टीका मान्छे छन् । तर, के गर्नु मति बिग्रेपछि केही गर्न सकिदैन । हामी सम्झाउन खोज्दा खोज्दै पार लागेन’, उनी भन्छन्, ‘पार लाग्छ की भनेर हाम्रो प्रचण्ड जि खुब लाग्नुभो । सँगसँगै दोस्तानासमेत राख्नुभो । हामीलाई पनि फकाइदिए एकचोटि हेर्नुस कम्युनिष्ट कम्युनिष्ट एक हौं भनेर । हामी पनि दंग प¥यौं कम्युनिष्ट कम्युनिष्ट एक हौं भनेपछि त पक्कै होला भन्यौं ।’
नेपालले अगाडि थपे, ‘हाम्रो भावना पवित्र भएर मात्रै हुदैन । अरुको नियत, प्रवृत्ति, विचार ठिक छैन भने त्यहाँभित्र चरम व्यक्तिवाद, अंहकार छ भने दक्षिणपन्थी भड्काउको सिकार भएका छन् भने त्यस्ता व्यक्तिहरु पवित्र उदेश्यले चल्दैनन् । त्यस्ताहरुसँगको एकता फलिफाप हुदैन भन्ने कुरा पनि देखिएको छ ।’
उनले घुमाउरो पारामा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिटलरको संज्ञा दिए । राज्यको स्रोत दोहन गरेर भ्रष्टाचारमा लिप्त रहेर सरकार सञ्चालन गरिरहेको उनको आरोप छ । नारामा जनतालाई अलमल्याउने प्रवृत्ति व्याप्त भएको उनको भनाइ थियो ।
नेकपा एकीकृत समाजवादी पार्टीले अगिंकार गरेको विचार र उदेश्य ठिक भएको बताए । आफ्नो पार्टी खुलेकोमा अरुलाई ठिक नलागेपनि सही दिशमा पार्टी रहेको पूर्वप्रधानमन्त्री नेपालले दाबी गरे । उनले पार्टीका नेता कार्यकर्तालाई निराश नभइकन चुनौतिलाई पार लगाउन सुझाव दिए । देश बनाउनलाई पवित्र भावना भएको नेता चाहिने उनले बताए ।