तनहुँ
सडकको ट्रयाक खुलेको २७ बर्ष भयो । देशकै लाइफलाइन पृथ्वी राजमार्गबाट ३ किलोमिटर मात्रै पर भएपनि खैरेनीटार तीनखोले देवी मोटरमार्गमा पर्ने कुम्लेखोलामा मोटर गुड्ने पुल थिएन ।
हिउँदको बेला कुलो जत्रै बग्ने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ बेलबोट फेदीको कुम्लखोला बर्खा लागेसँगै उग्र बन्छ । उर्लेको भेलमा सवारी वारपार गर्नुपर्ने स्थानीयको नियति नै थियो । दुई पांग्रे सवारीलाई खोला तार्दाको जोखिम वयान गरिसाध्य छैन ।
जाम्दीका शंकर सारुका अनुसार बर्खामा खोलाबाट सवारी वारपार गर्न युद्ध जितेसरह नै थियो । ‘पुल नहुदाँ गाह्रै थियो । गाडीहरु वारीको वारी पारीको पारी हुन्थ्थो’, उनी भन्छन्, ‘कहिलेकसो त न्यारथुम भएर पनि गइन्थ्यो ।
तर, यो जोखिमबाट ढिलै भएपनि स्थानीयले मुक्ति पाएका छन् । शुक्लागण्डकी नगरपालिका–६ बेलबोटे फेदीस्थित कुम्लेखोलामा मोटरेबल पुल बनेको छ । पुल बनेसँगै बर्खा याममा निकै सहज भएको हो । अब त सजिलो हुने भयो ।’
उनले थपे, ‘एकदमै खुशी छु । राम्रो पुल बन्यो । सकि नसकि खोलाबाट गाडी तार्नुपर्दैन ।’
खेरैनीटार बजारबाट कुम्लेखोला तरेर यस क्षेत्रकै प्रसिद्ध तीनखोले देवीको मन्दिर पुगिन्छ । मनसुनको बेला मन्दिर गएका भक्तजन फर्कदा पानी परेर खोला तर्नै नसक्ने अवस्थासमेत हुन्थ्यो । खैरेनीटार तीनखोले देवी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष बालकुमार वाग्लेले अब स्थानीयसँगै मन्दिर आउने भक्तजनले सास्ती खेप्नु नपर्ने बताए ।
‘मन्दिरमा जाने दिउँसोमा दर्शन गरेर फर्कने बेलामा यदि पानी आएर खोला बढ्यो भने आएका भक्तजन पनि तरेर जान नपाउने स्थिति थियो । त्यो अवस्थाबाट अहिले पुल बनाउन सफल भएका छौं’, उनले भने । सुरु गरेको निकै छोटो समयमा पुल निर्माण भएको भन्दै उनले खुशी व्यक्त गरे ।
बर्खामा कुम्लेखोलाले स्थानीय जनप्रतिनिधिको पनि निद हराम गरेको थियो । सीमित स्रोत साधानकाबीच स्थानीय तह एक्लैले पुल बनाउन सक्ने अवस्था थिएन । अहिले पुल बनेपछि जनप्रतिनिधि पनि हर्षित छन् । खोलामा हिउँमा सजिलोका लागि ह्युमपाइप राखिएको शुक्लागण्डकी–६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले बताए । बर्खा लागेपछि उर्लेको भेलले बगाइदिने उनी सम्झन्छन् । ‘पानी परेसि फोन आउथ्यो, ह्युमपाइप बगायो भन्नुहुन्थ्यो । यदि तनाव हुन्थ्यौं हामी । यस क्षेत्रका जनता पनि तनावमै हुनुहन्थ्यो’, उनी भन्छन्, ‘आज यो पुल बनेपनि यस क्षेत्रका सबै जनताको मुहारमा खुशी छाएको छ ।’
सम्झौता अवधि सकिन ५ महिना बाँकी छँदै पुल निर्माण भएको हो । निर्माण व्यवसायीले पटक– पटक म्याद थपेर पनि काम नसक्ने प्रवृत्तिकाबीच म्याद नसकिदै पुल बन्दा स्थानीय चकित छन् । अर्कोतर्फ पुल बनेर बर्खा बेला खोलामा सवारीसँगै हेलिनुपर्ने बाध्यताको अन्त्य भएपछि स्थानीयको खुशीको सिमा नै छैन ।
सहरी विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय पोखरामार्फत कुम्लेखोलामा पुल निर्माण भएको हो । डबल सेल बक्स डिजाइनको पुल २ करोड ८० लाख ५९ हजार ९७९ रुपैयाँको लागतमा पुल निर्माण भएको छ । २०८१ असार १३ गते वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालि गुल्मिले २०८२ पुस १३ गते सक्ने लक्ष्यका साथ ठेक्का सम्झौता गरेको थियो । तर, म्याद सकिन ५ महिना अगावै सम्पन्न गरेर तामझामका साथ उद्घाटन गरिएको छ ।
प्रतिनिधि सभा सदस्य शंकर भण्डारी, शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित लगायतले शनिबार पुलको उद्घाटन गरेका हुन् । पुल उद्घाटनको अवसरमा वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालिलाई सम्मानसमेत गरिएको छ । वेस्टर्न पपुलर कन्स्ट्रक्सन प्रालिका गगन केसीलाई उपभोक्ता समितिले प्रशंसापत्र सहित सम्मान गरेको हो ।
पछिल्लो समय सडक, पुल लगायत भौतिक पूर्वाधार विकासमा ठेकेदारले दिएको सास्तीले तीनै तहका सरकार र उपभोक्ता हैरान छन् । तर, कुम्लेखोला पुल निर्माण गरेको वेस्र्टन पपुलर कन्स्ट्रक्सन प्रालिले भने अपवादको रुपमा पटक पटक म्याद थप्ने होइन पहिलो पटक नै म्याद अगावै सक्ने छवि बनाएको छ ।