पोखरा
प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फिर्ता ल्याउन सम्भव नरहेको बताउदै घरैमा सिंहासन बनाएर राख्ने चेतावनी दिएका छन् । नेपाली जनताले राजतन्त्र मुन्टाएर फ्याँकेकाले फिर्ता ल्याउन नसकिने उनको भनाइ छ ।
शुक्रबार दिउँसो पोखरामा सुरु नेकपा एमाले निकट रािष्ट्रय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमाले रहुन्जेल राजा फिर्ता आउनै नसक्ने दाबी गरे ।
‘अब यो देशमा यही आउने १५ गते राजालाई सिंहासनमा राख्छन अरे । घरैमा सिंहासन बनाएर राख । देशको राज सिंहासन भनेको गयो । गइसक्यो, देशको राज सिंहासनको कल्पना कस्तो दिमाग होला भनेको’, एमाले अध्यक्षसमेत रहेका ओलीले भने, ‘नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसके । कहाँ हराइसक्यो । संविधान अर्को बनिसक्यो । संसद छ, राष्ट्रपति छ, न्यायलय, संविधान, व्यवस्था छ लोकतान्त्रिक र हामी छौं ।’
ओलीले थपे, ‘जसले जंगलमा घुमेर जथाभावी जल्लाई पायो त्यल्लाई समाउदै पछार्दै, मार्दै खादै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर खोरबाट पनि निकालेर मुन्टाएर फ्याँकिदिएका छौं । हामी छदैछौं यो देशमा फेरी राजतन्त्र ल्याउँछौं अरे त्यो सपना देखिरहेका छन् ।’
उनले राजावादीले जेठ १५ गतेदेखि घोषणा गरेको आन्दोलनप्रति पनि आक्रोश व्यक्त गरे । ‘१५ गते ल्याउने अरे । कस्ता सपना देख्छन् यिनीहरु ? त्यस १५ गतेपछि अर्को १५ गते भन्छन् । अस्तिनै बैशाख ११ गते ल्याउछौं भने ।’ वैशाख ११ गते युवा संघ नेपालले युवा महोत्सव गरेर राजाले घुँडा टेकेको दिनको सम्झनामा खुशीयाली मनाएको बताए । राजा फिर्ता हुने भ्रममा नपर्न उनको आग्रह थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको काम पनि देखेको बताए । तीन वर्ष ज्ञानेन्द्रले शासन हातमा पार्दा कानमा घुसेको कानसुत्लो जस्तो उफ्रेको उफ्रै, चिथोरेको चिथोरै गरेको ओलीको भनाइ छ । देशविरोधी, जनविरोधी क्रियालापको चेष्टा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउने उनले दाबाका साथ बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘प्रधानमन्त्रीलाई भाग्नलाई हेलिकोप्टर सुविधा दिने’ भनेर गरेको उद्घोषको पनि ओलीले पोखराबाटै जवाफ दिए । ‘के के सपना देख्न थाले यिनीहरु । हेलिकोप्टरको सुविधा दिने । कस्ले बोल्या हो मैले त्यति याद गरिन । तर एउछा उत्ताउलै मान्छे कसैले बोल्याछ’, प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता प्रकारका प्रयासहरु भएका छन् । त्यस्ता प्रयासहरु रोक्न अग्रभागमा, प्रतिगमन रोक्न, देशको रक्षा गर्न, राष्ट्रिय हित गर्न, नेपालको भूमिको रक्षा गर्न, नेपाको हकअधिकारको रक्षा गर्न, जनताको हकअधिकारको रक्षा गर्न अग्रभागमा । नेपालको शुसानसन र विकासको लहर ल्याउन अग्रभागमा रहने पार्टी भनेको नेकपा एमाले हो ।’ एमाले देश विकासमा लागेकाले पनि देशी विदेशी तत्व विरोधमा लागिरहेको उनको टिप्पणी थियो ।
राष्ट्रिय युवा संघ नेपाललाई उनले सर्वसम्मत नेतृत्व चयनका लागि निर्देशनसमेत दिएका छन् । युवा संघमा नअटाएकालाई व्यववस्थापन गर्न पार्टी रहेको उनले आश्वासन दिए । ‘तपाईंहरु हरेकको व्यवस्थापन हुन्छ । यो उ म भन्दिन । यही कुरा बताउन म यहाँ आएको हो’, उनले सुनाए ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार कुनैपनि हालतमा नढल्ने दाबी गरेका छन् । सरकार नढल्ने र १४ महिनापछि आफैंले राजीनामा दिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद सुम्पने उनको भनाइ छ ।
‘सरकार ढल्ने होइन १४ महिनापछि मैं राजीनामा दिन्छु । त्यसपछि नेपाली कांग्रेसका शेरबहादुर देउवाले नेतृत्व गर्नुहुन्छ’, ओली भन्छन्, ‘स्पष्ट छ हाम्रो सहमती भएको छ देउवा जीले नेतृत्व गर्नुहुन्छ । हामी सरकारमा सहभागी रहन्छौं । र चुनाव गराउछौं ।’
‘देशमा अस्थिरता हुन दिनु हुदैन । स्थिरता र स्थायित्व ल्याउनुुपर्छ भनेर नेकपा एमाले र नेपाली कंग्रेस मिलेर अहिले सरकार बनाएकाछौं’, उनले भने, ‘१० महिनादेखि एक दुुई जना मान्छेमात्रै विहान बेलुका कराइराख्याछन् सरकार ढल्यो, ढल्यो भनेर ।’
शुक्रबारदेखि पोखरामा सुरु नेकपा एमाले निकट राष्ट्रिय युव संघ नेपालको दशौं अधिवेशनलाई सम्बोधन गर्दै उनले केही मान्छेहरु एमाले कांग्रेसबीच सहकार्य गरेर सरकार बन्न नदिएको स्मरण गरे । सरकारले भ्रष्टाचारी, कमिशनखोरीविरुद्धको अभियान थाल्दा काराबाहीमा परिएला सोचेर त्रास फैलिएको जिकिर ओलीको छ । ‘त्यस त्रासले उनीहरु आत्तिएर बर्बराउन थाले । बर्बराईरहेका छन्’, उनको आरोप थियो । अहिलेको सरकार भ्रष्टाचारका विरुद्ध शून्य सहनशिलताका साथ कसैको अनुहार नहेरिकन लागिरहेको उनको दाबी छ । हल्ला नभइकन आफू नेतृत्वको सरकारले काम गरिरहेको उनले सुनाए ।
‘त्रसिरहेका छन् त्रसनेहरु यो सरकार ढाल्न सकिएन कायम रह्यो भने भ्रष्टाचारका कुरा उदांगिदै जानेछन् र कारबाही भोग्नुपर्ने हुनसक्छ आत्तिएका छन्’, नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले भने, ‘हामी कुनै हतार गर्दनौं । सबै कुरा आफैं सतहमा आउदै छ हामीले हतार गरेको होइन । उनीहरुका कामले गर्दा जेलमा गएका छन् हामीले जेलमा हालेको होइन ।’
राजनीति नै नगरेका मान्छेका हातमा राजनीति हुँदा अराजकता, मनपरीतन्त्र, उश्रृंखलताको अवस्था आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति असन्तुुष्टि पोखे ।
हामीले मुन्टाएर फ्याँकेको राजतन्त्र आउदैन, घरैमा सिंहासन बनाएर राखः प्रधानमन्त्री ओली