किसानले छाडेका, राज्यले पालेका गाईगोरु

दुलेगौंडा

लस्करै गाइ र गोरुको हूल । मादी नदी किनारको चउरमा अधिकांश चर्दैछन् । केहीलाई गोठमा बाँधिएको छ । बाच्छाबाच्छी रापिलो घाममा पनि दुगुर्दै बुर्कुसी मारिरहेका छन् ।

तनहुँको व्यास नगरपालिका–१० भतेरीमा यतिधेरै संख्यामा देखिन गाई गोरु किसानले पालेको होइन । काम दिन छाडेपछि फालेका हुन् । दूध दिन छाडेका गाई र काम दिन नसक्ने गोरुलाई किसानले खेदेपछि व्यास नगरपालिकाले गौ संरक्षणमा ल्याएर आश्रय दिदै आइरहेको छ ।

गौसंरक्षण तथा सरसफाई व्यवस्थापन केन्द्रका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार अहिले गौसंरक्षण केन्द्रमा बाच्छा बाच्छिसहित १३५ गाई गोरु छन् । ‘दुध दिने बेलासम्म किसानहरुले पाल्छन्, खान्छन् । थुनोलो भएर बिग्रयो, साँढे लिएन अथवा बुढो भयो भने अनुत्पादक भएपछि गौसंरक्षणमा ल्याएर छोड्छन्’, सापकोटा भन्छन्, ‘यहाँ आएपछि केही समयपछि गिद्धको आहरा बन्छन् ।’

किसानले अनुत्पादक ठानेर गौसंरक्षण ल्याउने विकासे जातका गाईको ४ हजार रुपैयाँ स्थानीय जातका गाईको ३ र बाच्छाबाच्छीको २ हजार रुपैयाँ शुल्क तोकिएको छ । शुल्क नलिदाको तुलनामा शुल्क लिन थालेपछि किसानले कम गाई गोरु ल्याउन थालेका छन् । ‘गौसंरक्षणमा लगेर छोड्दानि ४ हजार तिर्नपर्छ भनेपछि ल्याउने संख्या घट्याछ’, सापकोटाले सुनाए ।

गौसंरक्षण केन्द्रमा किसानले छाडेका केही गाई दुहुनोसमेत छन् । तिनै गाईको दुध बेचेर गौसंरक्षण तथा सरसफाई व्यवस्थापन केन्द्रले एक जना कर्मचारीसमेत राखेको छ । गौसंरक्षण तथा सरसफाई व्यवस्थापन केन्द्रमा व्यास नगरपालिकाले तीन जना कर्मचारीको व्यवस्थापन गरिदिएको हो । ती कर्मचारीले गौसंरक्षणसँगै रहेर फोहोर मैला व्यवस्थापन केन्द्रमा कुहिने फोहोरलाई मल बनाउने काम गर्छन । भतेरीमा गौसंरक्षण केन्द्र बनेसँग गिद्धको संख्या बढेको छ । मरेका गाई गोरु आहारा भएपनि गिद्धको संख्या बढेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.