दुलेगौंडा
शुक्लागण्डकी नगरपालिका–१० खोरादीमा भलिबल प्रतियोगिता सुरु भएको छ । खोरादी युवा क्लबको आयोजना र खोरादी आमा समूहको सहआयोजनामा भएको पाँचौ खोरादी तथा तेस्रो ज्योति स्मृति कप भलिबल प्रतियोगिताको कार्यवहाक वडाध्यक्ष विमल रानामगरले उद्घाटन गरे ।
रानाले युवाहरु खेलकुदसँगै अध्ययनमा लाग्नुपर्ने बताए । गाउँस्तरमा आयोजना हुने प्रतियोगिताले खेलाडी उत्पादनसँगै खेल कौशल प्रदर्शन गर्न सघाउने उनको भनाइ थियो । ‘खेलकुदले स्वास्थ्यमा मात्रै नभई दुव्र्यसनीबाट जोगाउँछ’, कार्यवहाक वडाध्यक्ष रानाले भने । अहिले युगका युवापुस्ताले फड्को मार्न प्रविधिलाई भरपूर प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
साविक गाउँ तथा वडास्तरीय प्रतियोगिता माघ २३ गतेसम्म प्रतियोगिता चल्नेछ । आइतबारको उद्घाटन खेलमा इलाका प्रहरी कार्यलय बेलचौताराको टोलीले विजयी सुरुवात गरेको छ । बिबाङ्ग दह युवा क्लब सुनछहारी रोल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले जित दर्ता गराएको हो ।
प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गोविन्द आलेले जानकारी दिए । आलेका अनुसार उपविजेताले २० हजार रुपैयाँ हात पार्नेछ ।
सेमिफाइनलका उपविजेता दुई समूहले समान ५ हजार रुपैयाँ पाउने आलेले जानकारी दिए । उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टरलाई समेत उचित पुरस्कारको व्यवस्था रहेको छ ।