तनहुँ–कौराहाको उद्गमथलो मानिने ऋषिङ गाउँपालिका संरक्षणमा जुटेको छ । कौराहाको संरक्षण गर्दै नयाँपुस्तालाई हस्तानतरण गर्न गाउँपालिकाले प्रतियोगिता गर्न लागेको हो ।
ऋषिङ गाउँपालिकाको आयोजनामा आगामी माघ २० गते खुला कौराहा प्रतियोगिता हुने भएको छ । कौराहा प्रतियोगिताको विजेता समूहले ७० हजार र उपविजेताले ४५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । तेस्रोले २५ र चौंथोले १० हजार रुपैयाँ पाउने गाउँपालिकाले जनाएको छ ।
कौराहा मगर समुदायमा प्रचलित संस्कृति हो । तनहुँसँगै आसपासका जिल्ला कास्की, स्याङजा, लमजुङ, गोरखा, नवलपुर, चितवनमा पनि कौराहा गाउने चलन थियो । ऋषिङको कोटदरबारमा भने करिब अढाई सय वर्ष अगाडि नै कौराहा सुरुवात भएको जानकारहरू बताउँछन् ।
ल्वाङ, सुकमेल, चुरोटसहितको चिठ्ठी पछ्यौरीमा बेरेर मगर समुदायका युवतीले अर्को गाउँका तन्नेरीलाई कौराहा नाँच्न निम्तो पठाउने चला थियो । निम्तो स्वीकारेका तन्नेरीहरू कमिज, भांग्रा, कछाड र टोपीमा ठाटिएर आइपुग्छन् ।