फेवाताल किनारमा कविताको गुञ्जन

पोखरा
अध्याँरोले उज्यालोलाई जित्दै गरेको साँझ । सिमसिमे झरी । फेवाताल किनारको चिसो सिरेठो । सिरेठोलाई जित्दै फेवाताल किनारको बाराहीघाट कविताको महोलले गर्मायो ।

१२ औं संस्करणको एनसेल फाण्डेसन नेपाल लिटरेचर फेस्टिभलस्थल बाराहीघाट शुक्रबार साँझ कविहरु गुञ्जिए । तिनका सिर्जनाले सहभागी दर्शकको मन जित्यो ।

‘हामी सबैलाई थाहा छ आगोबिना पाक्दैन खाना
हुर्रर हुर्रर, भुर्रर भुर्रर तिम्रो गाना बजाना…’


मजदुरी कवि इन्द्र राना ‘प्रतिक’ को कविताले माहोललाई रापिलो बनायो । उनको कविताले पापीलाई आगोको ज्वालाले झोस्नुपर्ने भाव व्यक्त गरे । त्यसपछि ‘चुुल्ठो’ कविता संग्रहमार्फत आफ्नो पहिचान स्थापित गराएकी कवि कल्पना चिलवाल भूपी कक्षको स्टेजमा उक्लिइन् । उनले आफूले खस्रो कविता लिएर आएको उद्घोष गरिन् । उनको कविताको शीर्षक थियो, ‘समृद्धिको भाषण मुख्यमन्त्रीको’ ।


‘किन झल्को आयो मुख्यमन्त्रीको भाषण
पञ्चायतकालको कुनै प्रधानपञ्चको जस्तो
उस्तै शासकीय रवाफमा उस्तै कुटिल मुस्कानमा…’


कल्पनाले सरकारलाई शब्द वाँणमार्फत प्रहार गरिन् । सरकारले बरोजगार उत्पादनमा सघाइरहेको कवितामार्फत उल्लेख गरिन् । गणतन्त्र देशका प्रदेश प्रमुखहरु समृद्धिको आसनमाथि बसेका निरंकुश राजाको उत्तराधिकारी पुत्र जस्तै लाग्न थालेको बताइन् । कवि सञ्जिव पौडेलले ‘शिक्षा’ शीषर्कको कविता सुनाए । उनले नेपाली शिक्षा प्रणालीलाई व्यंग्य गरे ।


‘मेरो छोरो सन्तुलित आहार पढ्छ किताबमा
भान्छामा असन्तुलित आहार खान्छ…’


उनको शसक्त कविताले दर्शकलाई छोयो र पररर ताली बजाए । त्यसपछि लक्ष्मी थापाले ‘म किन गर्व नगरौं ?’ प्रस्तुत गरिन् ।

‘मलहार रातका घटा जस्ता ऐंठन जस्ता भएपछि
मध्यरातका केही घडी पर

अनिर्णयका बन्दी बनेका हामीलाई
सम्बन्धको सहकाल पर्खिरहेको थियो…’


कवि त्रिवेणीले अन्तर जातीय विहेलाई नेपाली समाजले हेर्न दृष्टिकोणलाई चित्रण गरेको थिए । उनले आफ्नी श्रीमतिलाई सम्बोधन गर्दै लेखेको कविता सुनाए । केशु शर्माको ‘बाको माथी घर’ सुनाइन् । उनले ‘बा’ को महिमालाई शब्दमा उनेर बुनिएको कविताले भूपी हल गुञ्जाइन् । सरस्वती श्रेष्ठ ‘सरु’ ले ‘शक्ति, सपना र संघर्ष’ सुनाइन् ।
‘उ जन्मिन्छे एक झिलिमिली आशा बोकेर
तर, समाजले भन्छ छोरी जन्मेकि छ…’


छोरी जन्मदा समाजले हेर्ने दृष्टिकोणलाई उनको कविताले छर्लङ्गै देखायो । त्यसपछि मञ्चमा झुल्किइन् सरस्वति प्रतिक्षा । लाहुरेको सहरको रुपमा चिनिने पोखरामा उनले ‘लाहुरे’ कविता सुनाइन् ।
‘लाहुरे दाइ भन्छन्–
लाहुरे हुनु भनेको लाहुरे हुनु मात्रै होइन
लाहुरे हुनु भनेको यस्तो एउटा माला हुनु हो..’


लाहुरेको गाथा बोकेको उनको कविताले पनि दर्शकलाई छोयो । अर्का कवि रमेश क्षितिजले तीन दशक पूरानो कविता सुनाए । ‘साथी पठाएर स्टेशनमा केही छिन’ शीषर्कको कविता प्रस्तुत गरे । शेसनका सहजकर्तासमेत रहेका मन क्षेत्रीले सहभागीलाई आभार शब्द टक्र्याँउदै दोस्रो दिनकाे एनसेल फाउण्डेसन नेपाल लिटरेचर फेस्टिभललाई बिट मारे ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.