मोटोपन अहिले धेरैको टाउको दुखाइको विषय बनिरहेको छ । मोटोपन नियन्त्रण गर्न जिम धाउने, विभिन्न प्रकारका डाइट प्लान गर्ने, सप्लिमेन्ट लिने, घरेलु उपचार विधि प्रयोग गर्ने धेरै मानिस देखिन्छन् । तर पनि उनीहरुले अपेक्षित नतिजा पाइरहेका हुँदैनन् ।
यसको एउटा प्रमुख कारण मोटोपनको कारण थाहा नपाई घटाउने उपाय खोज्न थाल्नु हो । किनकि एकै किसिमको सूत्र सबैलाई काम नगर्न सक्छ । यसलाई नियन्त्रण गर्न पहिला कारण जान्न आवश्यक छ ।
मोटोपनको कारण
वंशाणुगत
धेरै खाने, पिउने गर्दा मोटोपन बढ्छ भन्ने पक्कै होइन । मोटोपनको पछाडि अरु पनि धेरै कारण हुन सक्छन्, जसमध्ये वंशाणुगत पनि एक हो । बाबुआमा मोटोघाटो भएका बाबुआमाका सन्तानमा पनि मोटोपन बढ्न सक्ने सम्भावना बढ्छ । यसो भन्दैमा मोटोपन पूर्ण रूपमा पूर्वनिर्धारित छ भन्ने होइन । वंशाणुगत हुन सक्ने भए पनि मानिसको जीवनशैली कस्तो छ, त्यसमा मोटोपन निर्धारण हुन सक्छ ।
मेटाबोलिजमले कसरी काम गर्छ ? पाचनशक्ति कस्तो छ ? कति समयमा शरीरले खानालाई ऊर्जामा रूपान्तरण गर्न सक्षम हुन्छ ? यी सबै कुरा केही हदसम्म वंशाणुगत कारणमै भर पर्छन् । कतिपय यस्ता मानिस देख्न सकिन्छ, जो धेरै खाँदा पनि शरीर मोटो हुँदैन । यो उनीहरुको वंशाणुगत कारण हुन सक्छ । तर सबैमा यो लागू नहुन सक्छ ।
अत्यधिक खाने
हामीले खाने र पिउने चीजले शरीरलाई क्यालोरी प्राप्त हुन्छ । क्यालोरीबाट पाउने ऊर्जाले नै हामीले जुनसुकै शारीरिक क्रियाकलाप गर्न सक्छौं । तर कतिपय व्यक्ति फुर्सद हुनासाथ वा अफिसमा बसेर केही न केही खान्छन् । त्यस्तो अवस्थामा केही आफूले के खाइरहेको छु भन्ने हेक्का नहुन सक्छ । त्यसले शरीरमा क्यालोरी बढाइरहेको हुन्छ ।
आवश्यकताभन्दा बढी क्यालोरी भएमा शरीरलाई भार पर्छ र त्यो खर्च हुने अवस्था नहुँदा बोसो जम्मा भएर मोटोपन हुन्छ ।
बढ्दो उमेर
बढ्दो उमेरसँगै शरीरका अंगहरूले राम्रोसँग काम गर्दैन । जसकारण मोटोपन बढ्न सक्छ । उमेर बढ्दै जाँदा शरीरको मेटाबोलिजम प्रतिक्रिया सुस्त हुँदै जाने हुँदा पाचन शक्ति कमजोर हुन थाल्ने र मांसपेशी पनि कमजोर हुन थाल्छ । जसकारण शरीरमा बोसो जम्मा भई मोटोपन हाबी हुन थाल्छ ।
निष्क्रियता
कम शारीरिक गतिविधि पनि मोटोपनको मुख्य कारण हो । खानाबाट प्राप्त क्यालोरी खर्च गर्न शारीरिक गतिविधि आवश्यक हुन्छ । टन्न खाने तर कुनै किसिमको शारीरिक गतिविधि वा व्यायाम भएन भने शरीरले खानाबाट प्राप्त क्यालोरी खपत गर्न सक्दैन र त्यो बोसोको रूपमा जम्मा हुन थाल्छ । मोटोपनलाई बढावा दिन्छ ।
निद्राको कमी
निद्रामा शरीरलाई आराम मिल्छ, जुन स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण हुन्छ । जब पूर्ण निद्रा लाग्दैन तब शरीरलाई पनि आराम मिल्दैन । जसले शरीरमा विभिन्न किसिमका समस्याहरु आउन थाल्छन् । मोटोपन पनि यी समस्यामध्ये एक हो । पर्याप्त निद्रा नपुग्दा पाचन शक्ति कमजोर हुन्छ, मेटाबोलिजम सुस्त हुन थाल्छ, मांसपेशीलाई आराम मिल्दैन र यसले भोक पनि बढाउँछ । यी सबै कारणले गर्दा विस्तारै मोटोपन बढ्न थाल्छ ।
धेरै तनाव लिने
धेरै तनाव लिनु पनि मोटोपनको एक कारण हो । तनावका कारण केही जति खाए पनि थाहा नपाउने र केही भने तनाव हुँदा जति खाए पनि थाहा नपाउने हुन सक्छन् । यस्तोमा अत्यधिक खाइरहँदा मोटोपन बढ्न सक्छ ।
खराब जीवनशैली
खराब जीवनशैली अर्थात् समयमै नखानु, समयमै नसुत्नु, व्यायाम नगर्नु, कम हिंड्नु, एकै ठाउँमा घण्टौंसम्म बस्नु, गलत उपभोग गर्नु पनि मोटोपनका कारण हुन् ।
गर्भावस्था
गर्भावस्थापछि कतिपय महिलाको तौल तीव्र रुपमा बढ्छ । यो केही हार्मोनल परिवर्तनको कारण हुन सक्छ । त्यसबेला शरीर कमजोर हुने हुँदा खानेकुरा धेरै मात्रामा खाने र शरीरले आराम पनि गर्नुपर्ने हुँदा मोटोपन बढ्छ ।
त्यस्तै, हाइपोथाइराइडिजमले शरीरको मेटाबोलिजम कम हुन्छ, जसले गर्दा तौल बढ्छ । यद्यपि, थाइराइडको समस्याले सधैं मोटोपन निम्त्याउँछ भन्ने होइन, तर केही प्रतिशत जिम्मेवार भने हुन सक्छ ।
औषधिको धेरै सेवन
औषधि धेरै खाँदा पनि मोटोपन बढ्छ । कतिपय रोग यस्ता हुन्छन्, जसमा औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । त्यसले मोटोपन बढाउन सक्छ । विशेषगरी मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले नियमित खानुपर्ने औषधिको कारण भोक बढी लाग्छ र कति खाइयो भन्ने हेक्का नहुन सक्छ ।
गलत खानपिन
फास्टफुड खानेकुरा, तेलमा तारेका खानेकुरा, मसलेदार खानेकुरा, मिठाई, प्याकेटबन्द खानेकुरा, मदिरा सेवन गर्ने बानीले मोटोपन तीव्र रुपमा बढाउँछ ।