काठमाडौं । गर्भावस्था खुसीसँगै तनावको समय पनि हो । पेटमा हुर्किरहेको शिशुको प्रतीक्षाले मनलाई जति रोमाञ्चित बनाउँछ, सँगै शिशुको स्वास्थ्य कस्तो होला भनेर तनाव पनि भइरहेको हुन्छ ।
सबै गर्भवती महिलालाई देखिने तनाव एकै खालको हुँदैन । कुन अस्पताल वा स्वास्थ्यचौकीमा जाँच गराउने, कसलाई जँचाउने, डेलिभरी कसरी हुन्छ ? शिशु सुरक्षित हुन्छ कि हुँदैन ? बच्चा जन्मिंदा स्वास्थ्य अवस्था कस्तो होला ? डेलिभरी सामान्य तवरले हुन्छ कि शल्यक्रिया गर्नुपर्ने हुन्छ ? बच्चालाई केही समस्या देखिन्छ कि ? गर्भ खेर जान्छ कि भन्ने अनेक तनावले गर्भवती महिलालाई घेरिरहेको हुन्छ ।
यसबाहेक गर्भावस्थामा पारिवारिक, आर्थिक, अफिसको चिन्ता हुने गाइनोकोलोजिस्ट डा. बालकृष्ण शाह बताउँछन् । ‘जस्तै एकल परिवारमा कसले हेर्छ वा स्याहार गर्छ ? भन्ने तनाव हुन्छ भने संयुक्त परिवारमा राम्रो पोषणयुक्त खानेकुरा खान पाउँछु कि पाउँदिन भन्ने जस्ता तनाव हुन्छ,’ उनी भन्छन् ।
आजभोलि प्रायः सबै जना कामकाजी हुने भएकाले कार्यालय र कामको तनावले सताइरहेकै हुन्छ । त्यसमाथि तलबबाट आएको निश्चित पैसाले बच्चा जन्माउने बेलामा कुनै जटिल अवस्था आएमा कसरी व्यवस्थापन गर्ने भन्ने तनाव पनि मुख्य रुपमा देखिने गर्छ ।
अझ अहिले ग्रामीण क्षेत्रमा धेरै युवा विदेशमा हुन्छन् । यस्तो बेला गर्भवती महिला श्रीमानको प्रत्यक्ष साथ र सहयोगबाट बञ्चित हुन पुग्छन् । जसकारण एक्लोपनका कारण उनीहरुमा तनावले सताउँछ ।
गर्भावस्थामा थाइराइड, मधुमेह, प्रेसर बढ्ने समस्या हुन सक्छ । यस्तो समस्या देखिंदा तनाव थप बढ्ने डा. शाह बताउँछन् । यसबाहेक ‘अनप्लान बेबी’ रहन गएमा पनि तनाव हुन सक्छ ।
तनावका कारण सुरुको दुई–तीन महिना कसैकसैलाई बान्ता हुने, खाना नरुच्ने, अस्पताल भर्ना हुनुपर्ने, पेट दुखिरहने समस्या हुन्छ । गर्भावस्थामा हार्मोन परिवर्तन हुँदै जाने भएकाले दुई–तीन महिनादेखि नै महिलामा तनावको समस्या हुन्छ ।
गर्भावस्थामा तनाव लिंदा शिशुमा कस्तो असर पर्छ ?
गर्भावस्थामा तनाव लिंदा गर्भमा रहेको शिशुलाई प्रत्यक्ष रुपमा असर गर्ने डा. शाह बताउँछन् । ‘गर्भवती महिलामा चरण अनुसार फरक पर्छ । गर्भ रहेको १० हप्तामा शिशुको शारीरिक अंगको विकास हुने गर्छ । यसबेला बढी तनाव लिएमा शिशुको शारीरिक विकासमा समस्या आउन सक्छ,’ उनी भन्छन् ।
त्यस्तै गर्भवती भएको तीन महिनापछि शिशुको बौद्धिक वृद्धि विकास हुने भएकाले यसबेला बढी तनाव लिएमा बौद्धिक विकास ढिलो हुने उनी बताउँछन् । जस्तै, ढिलो बामे सर्ने, ढिलो हिंड्न सुरु गर्ने, ढिलो बोल्ने, ढिलो बुझ्नेलगायत सबै क्रियाकलाप सामान्य शिशुको भन्दा ढिलो हुने अध्ययनबाट पुष्टि भएको डा. शाह बताउँछन् ।
अमेरिकी स्वास्थ्य विभाग र मानव सेवा राष्ट्रिय स्वास्थ्य संस्थानमा अध्ययन अनुसार उच्च तनावले उच्च रक्तचापको जोखिम हुन सक्ने देखाएको छ । यसले शिशु अवधिभन्दा पहिला जन्मिने र कम तौल भएको शिशु जन्मिने जोखिम हुन्छ । त्यस्तै उच्च तनावले गर्भ खेर जाने समेत हुन सक्छ ।
‘तर यो कुरा कुनै अध्ययनमा प्रमाणित नै भएको चाहिं होइन,’ डा. शाह भन्छन्, ‘बरु कामको लोडका कारण भने गर्भ खेर जान सक्ने बढी भएको र अध्ययनले देखाएको छ ।’ सीएनएनमा प्रकाशित मेडिकल जर्नल जामा ओपन नेटवर्कको अध्ययन अनुसार गर्भावस्थामा तनावका कारण शिशुको विकासमा प्रत्यक्ष असर पर्ने देखाएको छ ।
कसरी व्यवस्थापन गर्ने ?
गर्भावस्थामा तनाव धेरै भएमा मनोचिकित्सक वा गाइकोलोजिस्टसँग छलफल गर्नुपर्ने डा. शाह सुझाउँछन् । साथै मानसिक तथा आर्थिक रुपमा सक्षम भएर मात्र गर्भाधारण गरेमा तनाव केही कम हुन सक्ने उनी बताउँछन् । यसबेला विशेषगरी जीवनसाथीको साथ र सहयोग महत्वपूर्ण हुन्छ ।
बाल मनोचिकित्सक डा. अमित झा भन्छन्, ‘मानिसलाई जहिले पनि तनाव हुन्छ तर गर्भावस्थामा हार्मोनमा परिवर्तन हुने र शारीरिक परिवर्तन हुनाले यसबेला अझ बढी तनाव थुप्रिने हुन्छ । झन् यसबेला परिवारको साथ सहयोग भएन, झैझगडा हुने तथा एक्लै सबैथोक गर्नुपर्ने अवस्थामा तनाव बढी हुन्छ । यसले भविष्यमा डिपे्रसन र एन्जाइटी हुने सम्भावना हुन्छ ।’
यसलाई नियन्त्रण वा व्यवस्थापन गर्न रियाक्स सेसन आराम दिने व्यायाम गर्न सकिने डा. झा सुझाउँछन् । ‘बिस्तारै लामो सास तान्ने र फाल्ने, मनलाई शान्त गर्ने व्यायाम, हिंडडुल गर्ने, प्रशस्त पानीको सेवन गर्ने, सन्तुलित भोजन, योग, ध्यान गर्न सकिन्छ । यसले शारिरिक, मानसिक र भावनात्मक रुपमा स्वस्थ रहन सकिन्छ,’ उनी भन्छन् ।
गर्भावस्थामा तनाव कम गर्न आफूलाई मनपर्ने संगीत सुन्ने, उत्प्रेरणामूलक, आध्यात्मिक पुस्तक पढ्ने र प्रेरक भिडियो वा अडियो हेर्न–सुन्न सकिने डा. बताउँछन् । मनमा लागेका कुरा परिवारको सदस्य वा मिल्ने साथीलाई खुलेर गर्ने, एक्लैभन्दा पनि समूहमा बस्ने गरेमा यसबेला उत्पन्न हुने तनावलाई न्यून गर्न सकिने उनी बताउँछन् ।