चाउमिन खाँदा होस् वा पिज्जा । टोस्ट, बर्गर, कुरकुरे, चिप्स, फेन्च फ्राइ नै किन नहोस् केचप राखेर हामी खान्छौं । खासमा केचपको काम खानेकुराको स्वाद बढाउनु हो । फास्टफुड र प्याकेजिङ खानेकुरामा केचप अनिवार्य जस्तै मानिन्छ । किनकि यस्ता खानेकुरामा केचप भएन भने नुन नपुगेको तरकारी जस्तो हुन्छ ।
केचप चिनियाँ शब्द कोइचिपबाट आएको हो, जसको अर्थ माछाको नमकिन वा मसालेदार चटनी हो । यो सत्रौं शताब्दीमा उत्पत्ति भएको मानिन्छ । यसको मुख्य सामग्री माछा खारा, जडिबुटी र मसला भएको चटनी हुन् ।
मुख्यतया गोलभेंडाबाट बनाइन्छ यो । यसबाहेक च्याउ, केरा र करी केचअप पनि हुन्छन् । सामान्यतया गोलभेंडाको केचअप पानी, चिनी, गोलभेंडाको पेस्ट, गाढा बनाउने तत्व, प्याज, लसुन र मरमसला र पिजर्भेटिभ मिसाएर बनाइएको हुन्छ ।
यसमा राखिने सामग्री कम्पनीअनुसार फरक-फरक हुन सक्छ । तर केचप घरमै पनि बनाउन सकिन्छ ।
केचप र ससमा के फरक छ ?
हुन त केचप एक प्रकारको सस नै हो, तर सबै सस केचप हुँदैनन । सामान्यतया सस भनेको बिना चिनी अर्ध ठोस वा तरल हुन्छ । तर केचप बाक्लो ठोस हुन्छ । यसलाई आजभोलि अचारको रुपमा खाने गरिन्छ । बजारमा पाइचो, किसान, ड्रंक कम्पनी केचप पाइन्छ ।
सस नुनिलो र गुलियो दुवै खानामा प्रयोग गर्न सकिन्छ भने केचअप फास्ट फुड खानेकुरामा मात्रै प्रयोग गरिन्छ । ससमा चिनी हुँदैन भने केचपमा चिनी र अन्य गुलियो बनाउने मरमसला हालेको हुन्छ ।
केचप कति स्वस्थकर ?
केचपमा धेरै प्रकारको केमिकल र प्रिजर्भेटिभको प्रयोग गरिन्छ । त्यसैले यो स्वस्थकर खानेकुरा मानिंदैन । अस्वस्थ मानिसको लागि मात्र नभई स्वस्थ मानिसलाई पनि बेफाइदा गर्छ । यसमा नुन र चिनीको मात्रा धेरै हुने भएकाले दैनिक प्रयोगले मधुमेह, उच्च रक्तचाप, मोटोपन, ग्यास्ट्रिक जस्ता समस्या निम्त्याउन सक्छ । यो बजारमा सानो पाकेट, सिसी र जर्किनको बट्टामा पनि पाइन्छ ।