तनहुँ खबर

शिशुको कानमा पानी पसेमा के गर्ने ?

शिशुलाई नुहाइदिंदा कानमा पानी पर्न सक्छ । कानको भित्री भागमा पानी पुगेमा निकै समस्या हुन सक्छ । बच्चालाई असहज महसुस हुने, कान डम्म भएको जस्तो हुने र कहिलेकाहीं कडा दुखाइ हुन्छ । तर शिशुले आफूलाई दुखिरहेको कुरा अभिव्यक्त गर्न सक्दैनन् । रुने र कराउने भन्दा बढी शिशुसँग विकल्प हुँदैन । यस्तोमा अभिभावकले नै पानी पस्न नदिन चनाखो हुनुपर्छ ।

यस्तोमा प्रश्न आउँछ, पानी पसिहालेमा के गर्ने ?
शिशुले आफ्नो कुरा व्यक्त गर्न नसक्ने हुनाले कानमा पानी पसे नपसेको कुरा हाउभाउबाट नै थाहा पाउनुपर्छ । जस्तै, पटक-पटक शिशुले कानमा हात लगिरहेको भएमा कान दुखेर राएका हुन सक्छन् । यस्तोमा हल्का पानी पसेको अवस्था हो भने शिशुको टाउको दायाँ र बायाँ एक मिनेट जति ढल्काएर हेर्न सकिन्छ । यसो गर्दा पानी पसेको भएमा बाहिर निस्कन सक्छ । यसका लागि कानको जुन छेउमा पानी पसेको छ त्यसैतिर केहीबेर टाँसेर राख्नुपर्छ । यसो गर्दा कानबाट पानी हट्छ । बच्चालाई लगभग पाँच मिनेटको लागि यो स्थितिमा राख्नुपर्छ। यद्यपि, धेरै नै पानी पसेको भए उनीहरुलाई अत्यधिक दुखाइ हुने र ढल्काउँदा पनि पानी नआउने हुन सक्छ । यस्तोमा धेरैजसो अभिभावकले शिशुको कानमा औंला हालिदिने, एयरबडले कोट्याइदिने गर्छन् । फलस्वरूप कानमा घाउ हुने, चिलाउने हुँदै बिस्तारै सुन्निने र जालीमा घाउसमेत हुने सम्भावना बढ्छ । त्यसैले ढिला नगरी अस्पताल नै पुर्‍याउनुपर्छ । अस्पतालमा अटोस्कोपबाट कानमा पानी पसेको छ कि छैन र त्यसले कस्तो असर गरिरहेको भनेर पहिचान गरिन्छ ।

पानीले कानमा जटिलता
लगातार कानमा लामो समयसम्म पानी जम्मा हुँदा कानमा संक्रमण हुन सक्छ । ढुसी पलाउने, पीप बग्ने, कान सुन्ने क्षमतामा कमी आउने र जालीमा असर पनि गर्न सक्छ ।

पानी पर्न नदिन के गर्ने ?
नुहाउनुअघि शिशुको कानमा भ्यास्लिनयुक्त कपास राखिदिनुपर्छ । यसले कानभित्र पानी पर्न दिंदैन । त्यस्तै, नुहाउँदा बच्चाको कानभित्र साबुन हालेर मिच्ने र पखाल्ने पनि गर्न हुँदैन । बरु, नुहाएपछि नरम कपडा भिजाएर कानको वरपर पुछिदिनुपर्छ । यसले कानमा अनावश्यक फोहोर हुन दिंदैन ।

एयरबडले सफा गर्नु हुँदैन
शिशुको कान चिलाएमा वा पानी पसेमा बजारमा पाइने एयरबड वा हेडपिनले कहिल्यै पनि कान कोट्याइदिनु हुँदैन । कान कोट्याउँदा झनै रगत बग्ने, दुख्ने हुन्छ । यसले घाउ हुँदै गएमा बहिरोपनको जोखिम समेत हुन सक्छ । यद्यपि कानको वरपर भएको फोहोर भएमा एयरबड पानीमा भिजाएर त्यसको पानी सोसेर कानको प्वालभन्दा बाहिरी भाग सफा गर्न सकिन्छ ।

Facebook Comments Box

थप समाचारहरु

error: Content is protected !!