विनोद ढुंगाना
तनहुँ
क्षितिजभन्दा पर ढल्दैछ घामको झुल्को । घरधन्दा सक्नुपर्ने चटारो छ । घरधन्दालाई थाती राखेर नाङलोमा फूलका थुंगा लिएर स्वागतमा तत्पर छन् गाउँँका आमा, छोरी र बुहारीहरु । गाउँमा पाइला राखेका पाहुनलाई फूलको थुंगासँगै मुस्कानले स्वागतमा तल्लिन उनीहरु भन्छन्, ‘हाम्रो गाउँमा हजूरहरुलाई स्वागत छ है ।’ स्वागत गर्नेवित्तिकै पाहुनालाई चियापानीको व्यवस्था गर्छन् । एकैछिनमा भोक लाग्यो होला है भन्दै टक्रयाउँछन् कोदोको सेल र गुन्द्रुकको अचार ।
तनहुँको आँबुुखैरेनी गाउँपालिका–१ गिरानचौरका महिलाहरु मिलेर यसरी अतिथि सत्कार टक्रयाउन थालेको धेरै भएको छैन । उनीहरु अतिथि सत्कारमा बामे चाल्दैछन् । सिक्दै, बामे चाल्दै गरेको अवस्थामा पाहुना आउने खबर पाएपछि बलबुताले भ्याएसम्मको तयारी गर्छन् । ‘पाहुना आउने भनेपछि त बेस्सरी खुशी लाग्छ नि हो’, होमस्टे सञ्चालनमा अगुवाइ गरिरहेकी ओममाया गुरुङ आफ्नै लवजमा बोल्छिन्, ‘छिटोछिटो घरधन्दा सकाएर तयारी गर्छौं ।’
खेतीकिसानी र घरधन्दामै अल्झिरहेका ओममायाहरुलाई गाउँमा होमस्टे सञ्चालन गर्ने कल्पनासमेत थिएन । उनी भन्छिन्, ‘होमस्टे चलाउने सोंच भएको भए त प्रदेश सरकारले १० लाख रुपैयाँ दिने बेलामै सुरु गथ्र्यौं नि । त्यो पैसा ल्याएर गरेको भए त अहिले गाउँ नै झिलिमिल हुन्थ्यो ।’
ओमकुमारीलाई लाग्छ ‘प्रदेश सरकारले होमस्टेलाई अनुदान दिएको बेला सुरु गरेको भए कम्तीमा पाहुनाका लागि व्यवस्थित कोठा बनिसक्थ्यो ।’
२०७९ सालको स्थानीय निर्वाचनपछि आएका गाउँपालिका अध्यक्ष शुक्र चुमानले होमस्टे चलाउनलाई प्रेरित गरेको उनी बताउँछिन् ।
‘केही गर्न पर्दैन हामी पाहुना पठाउछौं बेलाबेलामा तपाईंहरुले जे खानुहुन्छ त्यसमा एक मुठी बढार पकाउने हो, त्यै खुवाउने हो’, त्यसपछि होमस्टे सञ्चालनमा पाइला चालेको ओममाया सुनाउँछिन् । गाउँले सहमत भएपछि होमस्टे चलाउन गाउँपालिकाले बजेट विनियोजन ग¥यो । ओममायाका अनुुसार गाउँले मिलेर पूर्वाधार विकाससँगै होमस्टे चलाउन सीप तिखार्दैछन् ।

उनीहरुले होमस्टेमार्फत समृद्धिको सपना देखिरहेकाछन् । खियाँ लागेको घरको टिन फेर्नुमात्रै छैन, परदेश पुगेका खसमसँग गाउँका उकाली ओरालीहरु सँगै कटाउनुछ । तिनैमध्यकी राममाया गुरुङलाई होमस्टेमा पाहुना राखेर आत्मनिर्भर बन्ने सपनाले डो¥याइरहेको छ ।
खेतीबारीको काम, घरको धन्दा, वस्तुभाउको स्याहारसुसार सकाएर उनी पाहुनलाई स्वागत गर्नेदेखि जिब्रोमा गड्ने स्थानीय स्वादका परिकार चख्याउनलाई अगुवाइ गर्छिन् । पाहुनाले गाउँ गुल्जार भएपछि वर्षौदेखि परिवार छाडेर विदेशिएका श्रीमानलाई कहिल्यै नजाने गरेर घर बोलाउने उनको योजना धोको छ । ‘आम्दानी राम्रो भयो भने श्रीमानलाई गाउँ फर्काउने हो’, उनी भन्छिन्, ‘बुढाबुढी सँगै बस्ने रहर कल्लाई हुन्न र ?’
होमस्टे सुरु गरेपछि गिरानचौरमा हालसम्म ४० लाख रुपैयाँ लगानी गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । शौचालय निर्माण, आँगनमा ढुंगा बिछ्याएर चिटिक्क पार्ने, भवनसँगै भान्छा घर निर्माण र सडक बत्ती जडान लगायतको काम भएको छ । स्थानीयले पनि साझेदारी गरेका छन् । स्थानीयले पनि १२ लाख रुपैयाँ खर्च गरेका छन् ।

‘पहिलो चरणमा २० घरलाई अहिले तयार पार्दैछौं । पूर्वाधार विकासमा जोड छ’, चुमानले भने । गिरानचौरमा झन्डै ६० घरधुरी छ । गुरुङ जातिको वाहुल्य रहेको गाउँमा दलित समुदायको पनि बसोबास छ । दलित समुदायलाई पनि होमस्टेमा संग्लन गराएर गाउँका सबै घरलाई पाहुना राख्नयोग्य बनाउने योजना चुमानले सुनाए । गिरानचौरमा विदेशी र स्वदेशी पर्यटक बढ्दै छन् । गाउँपालिकाले प्रचारप्रसारमा पनि जोड दिइरहेको छ ।
आँबुखैरेनी चोकबाट पोखरातर्फ मस्र्याङदी हुँदै बरादीबाट बायाँ लागेपछि डुम्रीडाँडा समस्तीपुर हुँदै गिरानचौर गाउँ पुगिन्छ । पृथ्वीराजमार्गबाट ४ किलोमिटरको दूरीमा गाउँ रहेको वडाध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिए । उनका अनुुुसार बरादीबाट १५ मिनेट र खैरेनी चोकबाट आधा घण्टाको सवारी यात्रा गरेर पुग्न सकिन्छ । ‘पैदल हिँड्नेलाई एक घण्टाको बाटो हो’, उनले भने । समस्तीपुरसम्म तीन किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी सडक पनि कालोपत्रेका लागि ठेक्का लागेका छ ।
के छ गिरानचौरको विशेषता ?
तनहुँको अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिर जाने ‘ट्रान्जिट पोइन्ट’ मध्य एक हो गिरानचौर । पूरानो बस्तीमा पूरानै शैलीका घर छन् । विस्तारै कंक्रिटका संरचनाले जित्दैछ । गिरानचौरको होमस्टेमा आउने पाहुनालाई गाउँकै स्वाद चखाउछन् । मौलिक संस्कृति देखाउँछन् । पाहुनालाई घरमै बसेको आभाष दिलाउने उनीहरुले मूलमन्त्र हो । मकैको च्याख्लाको खिर र सिस्नोपूरी यहाँको ‘मेन्यु’ मा अटाएको छ । लोकल कुखुराको झोल, कोदोको रक्सी, भुटेको मकै, कोदोको खेल, गुन्द्रुकको अचारसँगै जिब्रोमै गड्ने गिरानचौरे आलुको स्वाद उनीहरु पस्कन्छन् ।
कौराहा, चुड्का, घाटु, नाँचरी, झ्याउरेमा पाहुना नाँच्छन् । रात परेपछि गाउँका युवाहरु स्वरमा स्वर मिलाउदै चुड्का घन्काउछन् । किशोरीहरु खुुट्टाको ताल मिलाउँदै कम्मर मर्काउँछन् ।
पहेंलो पटुकीले कम्मरै कसौंला
अलि वर आउन माया सँगै बसौंला…



