जिबी राईलगायत १९ जनाविरुद्ध थप अभियोग दर्ता, रविविरुद्ध आइतबार

तनहुँ-सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपलचनमा संग्लन १९ जनाविरुद्ध थप अभियोग दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले शुक्रबार सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई (जिबी)लगायत १९ जनाविरुद्ध थप अभियोग दायर गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी न्यायाधिवक्ता कमला काफ्लेका अनुसार जिबीसँगै सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) लगायतविरुद्ध थप अभियोग जारी भएको छ।

‘पहिला मुद्दा लगाइसकिएका प्रतिवादीउपर थप अनुसन्धान भएर जे जस्तो कसुर जे जस्तो बिगो थप्नुपर्ने थियो त्यो लगेर पहिलाको सहकारी ठगीको मुद्दालाई थप अभियोग लगेर दर्ता गरेका हौँ’, काफ्लेले भनिन्।

जिबी फरारको सूचीमा रहेका छन् भने रम्तेल र गुरुङ पुर्पक्षका लागि थुनामा रहेका छन्।

सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेसँगै गोरखा मिडिया नेटवर्कमा व्यवसायिक साझेदार बनेका पूर्वडिआईजी छविलाल जोशी, गितेन्द्रबाबु राई (जिबी)सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाई र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनालविरुद्ध भने आइतबार अभियोग दर्ता गर्ने तयारी छ।

गत सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीले रविविरुद्धको अनुसन्धान सकाएर रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय कास्कीमा बुझाएको थियो। रायसहितको प्रतिवेदनमा ५१ जनाविरुद्ध प्रतिवादी बनाइएको छ।

६५ जना प्रतिवादी बनाउनुपर्ने भए पनि बाँकी १४ जनाको नाम वतन खुलेको छैन। १९ जना प्रतिवादीविरुद्ध योभन्दा पहिले नै दर्ता भएको थियो।

नाम वतन नखुलेकासहित ३७ जना प्रतिवादी फरार रहेका छन्। प्रहरीले प्रतिवादीविरुद्ध एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ बिगो माग दाबी गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.