गण्डकी प्राविधिक शिक्षालय बनाउन एक अर्ब २३ करोडको सम्झौता

पोखरा- गण्डकी प्रदेशमा प्राविधिक शिक्षालय निर्माण गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र गण्डकी प्रदेश सरकारबीच सम्झौता भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरामा शुक्रबार एक कार्यक्रमबीच कोइका र गण्डकी सरकारबीच सहयोग सम्झौता भएको हो। सम्झौतापत्रमा गण्डकीका सामाजिक विकास मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डे र नेपालस्थित कोइकाका निर्देशक मुहेओन कङले हस्ताक्षर गरेका छन्।

कोइकाले शिक्षालय निर्माण परियोजनाका लागि नौ मिलियन अमेरिकी डलर अर्थात् एक अर्ब २३ करोड रुपैयाँ सहयोग गर्नेछ। साथै, प्राविधिक संस्थान भवन निर्माण, अल्पकालीन तालीम, संस्थानको सञ्चालन योजना, करिअर सेवा प्याकेज र उद्योगसँगको साझेदारी पहिचान गरी प्राविधिक संस्थानको गुरुयोजना विकासका लागि प्राविधिक मार्गदर्शन र सहयोग पनि प्रदान गर्नेछ।

सम्झौतामा हस्ताक्षर गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी इन्स्टिच्यूट टेक्नोलोजीको पूर्वाधार विकास परियोजनाका लागि कोइकाले आर्थिक सहयोग गरेकामा खुशी व्यक्त गर्दै समयभित्र नै परियोजना पूरा हुने बताए।

मुख्यमन्त्री पाण्डेले नेपाल र दक्षिण कोरियाबीचको द्विपक्षीय सहकार्यको प्रशंसा गर्दै परियोजनाले नेपालको आर्थिक समृद्धिका लागि आवश्यक सीप र दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले दक्ष जनशक्ति उत्पादन गर्न परियोजना सञ्चालन गरिएको बताए। यस परियोजनाले निर्माण उद्योगको आवश्यकता पूरा गर्ने, रोजगारी बढाउने र दक्ष जनशक्तिको विकास गरी नेपालको आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने थापाको भनाइ थियो।

कोइकाका देशीय निर्देशक कङले परियोजनाले युवा, महिला र विपन्न वर्गका लागि गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गरे। गण्डकी प्रदेशमा काम गर्न पाउँदा खुशी लागेको उनको भनाइ थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.