तनहुँ
गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि कास्कीका निकेश गिरीले जितेका छन् । शनिबार तनहुँको शुक्लागण्डकीमा भएको प्रतियोगितामा २९ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । निकेशले ११ हजार रुपैयाँको साथमा प्रमाणपत्र पाए ।
गोरखाका कृष्णबहादुर महत दोस्रो भए । कास्कीकै मदन घिमिरेले तेस्रो स्थान हासिल गरेका छन् । महत र घिमिरेले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । विजेता गजलकारलाई शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’, अग्रज साहित्यकार शेषमणि आचार्य र शुक्ला साहित्य संगमकी अध्यक्ष टुकादेवी आचार्यले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा गजलकार रुपिन्द्र प्रभावी ‘कटु’, सरस्वती श्रेष्ठ ‘सरु’ र अनुराग अधिकारी निर्णायक रहेका थिए ।
शुक्ला साहित्य संगमको आयोजनामा शुक्लागण्डकी नगरपालिकाको युवासँग नगरपालिका कार्यक्रम अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो ।
गण्डकी प्रदेशभरका ३० जना गजलकारले अनलाइनमार्फत सिर्जना पठाएका थिए । उत्कृष्ट १० मा छनोट भएकालाई शनिबार प्रतिस्पर्धा गराइएको हो ।