तनहुँ
देशैभरको तथ्याङकमा बढेको धान खेतीको उत्पादन गण्डकी प्रदेशमा भने घटेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा गण्डकी प्रदेशमा ३.२२ प्रतिशतले धान उत्पादनमा ह्रास आएको हो ।
देशभर चालु आर्थिक वर्ष २०८१÷८२ मा गतवर्ष भन्दा ४.०४ प्रतिशतले धान उत्पादन बढेको छ । गण्डकीको ९७ हजार ९५७ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा ३ लाख ७९ हजार ३२ मेट्रिक टन उत्पादन भएको कृषि विकास निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयकी कृषि अधिकृत रञ्जना पोखरेलले दिएको जानकारी अनुसार प्रति हेक्टर ३.८७ मेट्रिक टन धान उत्पादन भएको हो ।
गत वर्ष गण्डकीमा १ लाख १ हजार ९२३ हेक्टर क्षेत्रफलमा धान खेती लगाइएकोमा ३ लाख ९१ हजार ६२४ मेट्रिक टन फलेको थियो । प्रति हेक्टर उत्पादकत्व ३.८४ मेट्रिक टन भएको हो ।
पोहोर सालभन्दा ३ हजार ९६६ हेक्टर कम क्षेत्रफलमा रोपिएको धानको उत्पादन घटेपनि उत्पादकत्व भने ०.०३ बढेको वृद्धि भएको देखिन्छ । ४ हजार ८३६ हेक्टर क्षेत्रफलमा रोपिएको चैते धान २२ हजार ८६२ मेट्रिक टन फलेको थियो ।
बर्खे धान ३ लाख ५६ हजार १७१ मेट्रिक टन फलेको पोखरेलले जानकारी गराइन् । ९३ हजार १२३ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो । प्रति हेक्टर उत्पादन चैते धानको बढी छ । चैतको ४.७३ र बर्खे धानको ३.८२ मेट्रिक टन प्रति हेक्टर उत्पादकत्व रहेको निर्देशनालयसँग तथ्याङक् छ ।
गण्डकीका मनाङ र मुस्ताङबाहेक ९ जिल्लामा धान खेती गरिन्छ । नवलपुरमा अन्तको तुलनामा धेरै धान फलेको तथ्याङकले देखाउँछ । नवलपुरमा चैते र बर्खे गरेर ७८ हजार ६१३ मेट्रिक टन धान फल्यो । १९ हजार ३९४ हेक्टरमा किसानले धान लगाएका हुन् । तर, गत वर्षको उत्पादनसँग तुलना गर्दा भने ५ हजार ३७५ मेट्रिक टन कम फलेको हो । आर्थिक वर्ष २०८०/८१ मा नवलपुरको १९ हजार ९२६ हेक्टर क्षेत्रफलमा धान खेती गर्दा ८३ हजार ९८८ मेट्रिक टन फलेको थियो ।
नवलपुरमा धान उत्पादनमा कमी आउनुको कारण क्षेत्रफल घट्नु, बाढी र डुबानले क्षति पु¥याउनुसँगै सावित्रि धानमा लागेको रोग भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्ले बताउँछन् ।
‘असोजको ११ र १२ गते आएको बाढीले धान खेती डुबानमा प¥यो । धान खेती लगाएको जग्गाहरु कटान पनि ग¥यो’, उनी भन्छन्, ‘अर्को कारण सावा मन्सुली र सावित्रि धानमा तापक्रम बढी भएकाले दाना नलाग्ने समस्या देखियो । धान लागेन र फोगट मात्रै भयो ।’
बाढीपहिरोले मध्यविन्दु, गैंडाकोट, कावासोती नगरपालिका, विनयत्रिवेणी र बुलिङटार गाउँपालिकाका ५७२ हेक्टर क्षेत्रफलमा लगाइएको धानवालीमा क्षति पु¥याएको कृषि प्रसार अधिकृत काफ्लेले जानकारी दिए ।
यस्तै, देवचूली, कावासोती, मध्यविन्दु र गैंडाकोट नगरपालिकाको ३०० हेक्टर क्षेत्रफलमा किसानले लगाएको सावा मन्सुली र सावित्रि धानमा दाना नलागेको कृषि ज्ञान केन्द्रसँग तथ्याङक छ ।
कृषि विकास निर्देशनालयको तथ्याङक हेर्दा यसपालि सबैभन्दा कम १३ हजार ६६४ मेट्रिक धान म्याग्दीका किसानले थन्क्याएका छन् । कास्कीमा ६२ हजार ९८८, स्याङजामा ५७ हजार ५०२, तनहुँमा ४४ हजार २३८, गोरखामा ४३ हजार ५४, लमजुङमा ३१ हजार ५३९, पर्वतमा २६ हजार ८३९, बाग्लुङमा २० हजार ५९५ मेट्रिक टन धान फलेको छ ।
गत वर्ष नवलपुरमा ८३ हजार ९८८, कास्कीमा ६३ हजार ५८४, स्याङजामा ६१ हजार ११७, लमजुङमा ४२ हजार ६७३, गोरखामा ४१ हजार ६८६, तनहुँमा ३७ हजार ७२४, पर्वतमा २६ हजार ६००, बाग्लुङमा २० हजार ५११, म्याग्दीमा १३ हजार ७०२ मेट्रिक टन धान उत्पादन भएको थियो ।
क्षेत्रफल घटेको घट्यै
वर्षेनी धान खेतीको क्षेत्रफल कृषि विकास निर्देशनालय गण्डकीका कृषि अर्थ विज्ञ मनोज पौडेल बताउँछन् । क्षेत्रफल घट्दा उत्पादकत्वमा भने वृद्धि आइरहेको उनको भनाइ छ । ‘क्षेत्रफलको हिसाबले उद्पादन ठिकै छ । तर, मुख्य कुरा खेतहरु बाँझो रहे । गाउँघरमा मान्छे भएनन् । क्षेत्रफल घटेको कारण उत्पादन घटेको देखिएको हो’, उनले भने ।
गण्डकीमा २०७९÷८० मा १ लाख ६ हजार ३८० हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा १ लाख १ हजार ९२३ हेक्टरमा धान रोपिएको निर्देशनालयको तथ्याङक्मा उल्लेख छ । अघिल्लो वर्षको तुलनामा ४.१९ प्रतिशतले धान रोप्ने क्षेत्रफल घटेको हो ।
गतवर्षको तुलनामा ३.८९ हेक्टर क्षेत्रफल यो वर्ष घटेको छ । यसपालि ९७ हजार ९५९ हेक्टरमा किसानले धान लगाए । गण्डकीमा आर्थिक वर्ष ०७६÷७७ मा १ लाख ८ हजार ६९७, ०७७÷७८ मा १ लाख ६ हजार ५४१ हेक्टर क्षेत्रफलमा धान खेतीयोग्य जमिन घटेको थियो । सुविधाको खोजीमा गाउँ छाडेर बेंसी झर्नेको लर्कोले लहलह धान झुल्ने समथर फाँटहरुमा वर्षेनी अग्ला कंक्रिटका घरहरु ठडिएका छन् ।
गोरखाको आरुघाट, पालुङटार, छेवेटार, लमजुङको करापुटार, सोतिपसल, सुन्दरबजार, उदीपूर, तनहुँको चुदीफाँट, साँगेफाँट, कलेस्ती, सत्रसय, कास्कीको लेखनाथ, पामे, आर्वा, लाहाचोक, घाचोक, मकैखोला धानखेतीका लागि पकेट फाँटहरु हुन् । पर्वतको फलेवास, जलजला, कुश्मामा धान खेती हुन्छ ।
यस्तै, बागलुङका बर्याङ, गल्कोट, जैमिनी, बडिगार्ड, म्याग्दीको घार ताकम, घतान, धारापानी, सिमखेत, स्याङजाको पुतलीबजार, चापाकोट, वालिङ, गल्याङमा धान खेती हुन्छ । नवलपुरको मध्यविन्दु, कावासोती, गैंडाकोट नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका लगायतका स्थानमा धान खेती गरिन्छ ।
गण्डकीका खेतहरुमा साबित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, महाराजा, च्याम्पियन, युस–३१२, बहुगुणी–१, बहुगुणी–२, हर्दिनाथ–३,सावा मंसुलि सव–१, आइआर, युएस–३१२, मकवानपुर –१, स्थानीय, जेठोवुढो, पहेले, गुर्दि, एक्ले, खुमल–४, १०, गौरिया, बयर्नी, सेतो र लामो झिनुवा, मार्सी, बिरिमफूल, कालो र टुँडे झिनुवा लगायतका धान रोपिन्छ ।