पोखरा
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले तलबभत्ता वापतको झन्डै ८० लाख रुपैयाँ सामाजिक कार्यमा खर्च गरेका छन् । उनले सांसद र मन्त्री हुदाँ ७ वर्षमा प्राप्त गरेको तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका हुन् ।
दुई पटकसम्म सांसद र मन्त्री बनेका धनाढ्य मन्त्री विन्दुकुमार थापाले २०७४ सालदेखि हालसम्म प्रदेशसभा सचिवालय र मन्त्रालयबाट पारिश्रमिक, भत्ता र अन्य सुविधाबापत ५८ लाख ५८ हजार ५४३ रुपैयाँ बुझेको जानकारी दिए । यो अवधिमा उनले सामाजिक कार्यमा ७९ लाख ४२ हजार ३९० रुपैयाँ खर्च गरेका हुन् ।
मन्त्री थापाले २०८० फागुनदेखि यो वर्षको माघ मसान्तसम्म पारिश्रमिक, बैठक भत्तासहित सुविधाबापत ९ लाख ९० हजार ९४ रुपैयाँ प्राप्त गरेको बताए । मंगलबार पत्रकार सम्मेलन गर्दै उनले व्यक्तिगत रकमसमेत थपेर १० लाख १ हजार ३ सय २४ रुपैयाँ सामाजिक कार्यमा खर्च गरेको उल्लेख गरे ।
नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा कास्की २ (ख)बाट निर्वाचित बिन्दुकुमार अघिल्लो कार्यकालमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बनेका थिए । अहिले कांग्रेसकै सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
तलबभत्ताबाट प्राप्त रकम विद्यार्थीलाई छात्रवृत्ति, स्वास्थ्य क्षेत्रमा आधारभूत पूर्वाधार निर्माण, खेलकुद प्रवद्र्धन, महिला तथा युवाको सशक्तिकरण, विपन्न परिवारलाई आर्थिक सहयोग, खानेपानी पाइप र ट्यांकी खरिद, मन्दिर, अक्षयकोष स्थापना लगायतका कार्यमा खर्र्चिएको बताए ।
मन्त्री थापाले आफ्नै निर्वाचन क्षेत्रमा सहयोग गरेका छन् । उनले १४ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म सहयोग गरेको उपलब्ध गराएको विवरणमा उल्लेख छ । यो वर्ष उनले ३६ जना व्यक्ति, समूह र संघसंसथालाई सहयोग बाँडेका हुन् ।
‘जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु कर्तव्य हो , मैले पाएको सेवासुविधाबापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आइरहेको छु’, मन्त्री थापाले सुनाए ।
सिंहदबारको सुस्त गतिका कारण प्रदेश सरकारले जनअपेक्षा अनुसार सोचेजस्तो काम गर्न नसकेको मन्त्री थापाले पत्रकार सम्मेलनमा स्वीकार गरे । ‘संघ सरकारले जबसम्म प्रदेशलाई आत्मनिर्भर बनाउने गरी कानून बनाउँदैन, त्यही अनुरुपको बजेट दिँदैन तबसम्म हामीले सोचेजस्तो काम गर्न सक्दैनौ भन्नेमा हामी सबै प्रष्ट हुनु जरुरी रहेको छ’, उनको भनाइ थियो ।