पोखरा
गण्डकी प्रदेश सरकारले ३२ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने भएको छ । आगामी आर्थिक बर्ष २०८२/८३ का लागि आइतबार दिउँसो प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले बजेट प्रस्तुत गर्दैछन् ।
चालु आर्थिक बर्षको तुलनामा घटाएर बजेट ल्याउन लागिएको हो । प्रदेश स्रोत अनुमान समितिले चालु आर्थिक बर्षको तुलनामा ३ अर्ब रुपैयाँ बजेट घट्ने अनुमान गरेपनि १ अर्ब घटाएर ल्याउने तयारी छ । समितिले आर्थिक बर्ष २०८२/८३ का लागि २९ अर्ब ५० करोड रुपैयाँ बराबरको बजेट ल्याउन सरकारलाई सिफारिस गरेको थियो ।
चालु बर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो । जेठसम्म ४७.५ प्रतिशत खर्च भएको अवस्था छ ।
गण्डकीका प्रत्यक्ष र समानुपातिक सांसदलाई छुट्टाछुट्टै दर तोकेर योजना मागिएको छ । भौतिक पूर्वाधारले समानुपातिकलाई १ करोड ५० लाख रुपैयाँ र प्रत्यक्ष निर्वाचितलाई २ करोड ५० लाख रुपैयाँको योजना बाँड्ने स्रोतले जनाएको छ ।
उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले प्रत्यक्षलाई ५० लाख, समानुपातिकलाई २६ लाख रुपैयाँको योजना मागेको थियो । पर्यटनले ४० लाख र २० लाख, सामाजिक विकासले ३० लाख र १५ लाख, वनले १० लाख र ५ लाख रुपैयाँका दरले प्रत्यक्ष र समानुपातिक सांसदलाई योजना बाँडेको स्रोतले जनाएको छ ।