गण्डकीका मन्त्री विन्दुकुमारले भेटे भारतको पुदुचेरी सरकारका पदाधिकारी

पोखरा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापा र भारतको पुदुचेरी सरकारका उच्च पदाधिकारीबीच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा नै पुदुचेरी सरकारका सार्वजनिक निर्माण, पर्यटन तथा नागरिक उड्डयन, माछापालन तथा माछा व्यवसाय कल्याण, कानून, सूचना प्रविधि तथा मुद्रण विभागका मन्त्री के लक्ष्मीनारायणन, उपसभामुख पी राजवेलु र पुदुचेरी विधानसभाका सचिव जे दयालन लगायतको टोलीसँग भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, सामाजिक क्षेत्र सुधार तथा सूचना प्रविधिमा सहकार्यका सम्भावनाहरूबारे छलफल भएको छ । गण्डकीका मन्त्री थापाले पुदुचेरीको पर्यटन विकास र प्रशासनिक व्यवस्थापनका अनुभवहरूबाट सिक्ने अवसर रहेको बताउँदै दुवै प्रदेशबीच आपसी अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

पुदुचेरीका मन्त्री लक्ष्मीनारायणनले दुई प्रदेशबीच पर्यटन, खेलकुद, सामाजिक विकास तथा प्रविधि क्षेत्रमा सहकार्यका ढोका खोल्न सकिने बताए ।

यस भेटवार्ताले भविष्यमा गण्डकी प्रदेश र पुदुचेरी सरकारबीच सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

गण्डकीका मन्त्री थापाले यो भेटवार्ता फलदायी भएको उल्लेख गर्दै आगामी दिनहरूमा थप सहकार्यका सम्भावनाहरू खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.