पोखरा
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुदैछ । आज दिउँसो २ बजे प्रदेश सभा भवन नदीपुरमा हिउँदे अधिवेशन डाकिएको हो ।
सुरुमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट पठाइएको पत्र पढेर सुनाउनेछन् । त्यसपछि प्रदेश निजामती सेवा ऐन संशोधनसम्बन्धी अध्यादेश प्रदेश सभामा पेश हुनेछ । अध्यादेश बाध्यकारी भएकाले पेश हुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले करार, ज्यालादारीमा कर्मचारी राख्ने गरेर ल्याएको अध्यादेश गत पुस १२ गते प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण गरेका थिए । प्रदेश निजामती सेवा ऐन २०७९ करारमा कर्मचारी राख्न रोक लगाएको थियो । त्यसैलाई शंशोधन गर्न प्रदेश सरकारले अध्यादेशको सहारा लिएको हो ।
यस्तै प्रदेश सभामा आज शोक प्रस्ताव पेश हुनेछ । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको कात्तिक २८ गते निधनको भएको थियो । नेपाली कांग्रेसको समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभामा चुनिएकी गौचनको ६३ वर्षको उमेरमा निधन भएको थियो । शोक प्रस्ताव पारित गरेर बैठक सकिनेछ ।
गत असोज १० गते गण्डकीको बर्खे अधिवेशन सकिएको थियो । हिउँदे अधिवेशनमा १० वटाका हाराहारीमा विधयेक प्रस्तुत गर्ने तयारी छ ।
संसदमा दलित विधेयक, अपाङ्तासम्बन्धी र युवा परिषद् गठन, गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषामा मान्यता दिने विधेयक लगायतका विधेयक प्रस्तुत गर्ने तयारी हो । यस अघि नै दुई वटा विधेयक संसदीय समितिमा विचाराधीन रहेका छन् ।