पाचौं टाइगर कप भलिबलः श्रीलंका र थाइल्याण्डको टोली सहभागी हुने

पोखरा

पाँचौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुई विदेशी टोली सहभागी हुने भएका छन् । महिला तथा पुरुषतर्फ १÷१ विदेशी टोली सहभागी हुने पक्का भएको हो ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १२ गतेदेखि पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगितामा १२ टोलीको प्रतिस्पर्धा हुनेछ ।

पुरुष र महिला दुवैतर्फ ६÷६ टोलीले सहभागिता जनाउने पक्का भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । पुरुषतर्फ विदेशी टोली श्रीलंकन भलिबल टिमसहित हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले सहभागिता जनाउने छन् ।

महिलातर्फ विदेशी क्लब युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डसहित नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखराले प्रतिस्पर्धा गर्दैछन् ।

पाचौं संस्करणको प्रतियोगितामा पुरस्कार राशिमासमेत वृद्धि भएको छ । चौथो संस्करणभन्दा ३० हजार रुपैयाँले पुरस्कार राशिमा थप भएको हो ।

विजेता दुवै टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिता माघ १९ गतेसम्म सञ्चालन हुनेछ । गत संस्करणको चौथो टाइगर कप भलिबलको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब र महिलातर्फ एपीएफ क्लबले जितेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.