दुलेगौंडा–चैत २९ गतेदेखि पोखरामा प्रथम एलिट भलिबल कप हुने भएको छ । एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा बैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।
पोखरा–३ नदिपुरस्थित एकेडेमीमा हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा लगानी गर्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् । प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने उनको भनाइ थियो ।
‘प्रतियोगितामा आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा स्कलरसिपसँगै निशुल्क प्रशिक्षण गराउनेछौं । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास छ,’ उनले भनिन् ।
शाहीका अनुसार एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निशुल्क प्रशिक्षणको व्यवस्था मिलाउनेछ । प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान एक हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।
दुवै विधामा टोलीमा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइनेछ ।
हालसम्म पुरुषतर्फ ९ र महिलातर्फ ७ समूहले दर्ता गराएको खेल संयोजक मलिन रोकाले जानकारी दिए । टिम दर्ताका लागि चैत २७ गतेसम्मका लागि समय तोकिएको छ । खेल हेर्नका लागि प्यारापिट बनाइएको छ ।
कप्तान शाहीसहित ३ जना मिलेर नदिपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरुले महिला खेलाडीलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् । विशेष गरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् । उनी भन्छिन्, ‘पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो लक्ष्य हो । कसरी हुन्छ । पहिलाको जुन साख छ पोखराको । त्यसलाई उजागर गर्नेछौं ।’