दुलेगौंडा
शुक्लागण्डकी नगरपालिकामा एकै पटक ११ कार्यक्रमको शुभारम्भ गरिएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ५ को कार्यालयले एकै दिन ११ कार्यक्रमको शुभारम्भ गरेको हो ।
सामाजिक विकास र आर्थिक विकास मातहातका ११ कार्यक्रमको सुरुआत गरिएको छ । सीप सिकाउने उदेश्यले मादल, पञ्चेबाजा बजाउने तालिम, कृषि तालिम तथा उन्नत जातको विउ वितरण, महिला लक्षित क्षमता विकास तालिम, ब्युटीपार्लर, लक्षित वर्गका लागि क्षमता विकास, संघसंसथाका पदाधिकारीलाई तालिमको शुभारम्भ गरिएको हो ।
यस्तै, जनजाती लक्षित कार्यक्रम अन्तर्गत संस्कृति संरक्षण र प्रबर्द्धन, बालबालिकालाई शैक्षिक सामग्री वितरण, बाख्रा पालन तथा खोर सुधार, टोल विकास संस्थाका पदाधिकारीलाई तालिमको सुरुवात भएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै उपमेयर खुमबहादुर विक (राजु) ले अब सीप सिकेर व्यवहारमा उतार्न आवश्यक रहेको बताए । ‘महिला र दलित समुदाय पछाडि परेकाले सहभागिता सुनिश्चित गर्नलाई क्षमता विकास गर्नुपर्छ’, उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले विकासको अन्तिम साध्य मानव विकास भएकाले त्यसतर्फ लक्षित हुन आवश्यक रहेको बताए ।
लेखा शाखा प्रमुख कोपिला पौडेल भट्टराईले जनताले तिरेको एक एक रुपैयाँ करबाट कार्यक्रम सञ्चालन हुने भएकाले पादरदर्शीता र मितव्ययिता देखाउनुपर्ने बताइन् ।
आर्थिक विकास शाखा प्रमुख नवराज पण्डितले सिकाइलाई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गरे ।
वडाध्यक्ष दीर्घबहादुर थापाले फरक सोंचका साथ कार्यक्रम सञ्चालन गरेको बताए । ‘जनताको मागको आधारमा कार्यक्रम छनोट गरेका छौं’,उनले भने । जातका आधारमा रहेको पुरानो चलनलाई क्षमता र रुचीको आधारमा सबै समुदायलाई सीप सिकाउने उनको भनाइ थियो ।
कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख युवराज पौडेल, वडा सदस्य धनेश्वर श्रेष्ठ, ज्योति विक, नेकपा माओवादी केन्द्र शुक्लागण्की–५ वडा समितिका अध्यक्ष नारायण पोखरेल, थर्पुटार टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर सारु लगायतले बोल्दै अब भौतिकसँगै मानवीय विकासको आवश्यकता रहेको औंल्याए ।