दुलेगौंडा– दुलेगौंडा बजारलाई व्यवस्थित गर्दै व्यपारिक थलो बनाउने योजना शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति शुक्लागण्डकी– ४ बुनेको छ । बजार व्यवस्थापनका लागि सरोकारवालासँग बुधवार अन्तरक्रिया गर्ने भएको हो ।
व्यवस्थित बजार बनाउन सरोकारवालासँग अन्तरक्रिया आयोजना गरेको वडा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण विकले बताए ।
हाल चार लेनमा स्तरोन्नती भइरहेको पृथ्वी राजमार्गले दुलेगौंडामा वनकेवाचोक बाहेकका स्थानमा २/२ लेनको सडकमा पहिलो चरणको कालोपत्र सकिएको छ । सर्भिस लेन भने खनेर छाडिएको छ । खानेपानीका पाइप, विद्युतीय संरचना र मापदण्ड भित्र परेका घरका कारण ‘‘सर्भिस लेन’ को कामले गति लिन सकेको छैन ।
‘योसँगै व्यवस्थित बजार निर्माणकालागि कसले के गर्नुपर्ने हो, निष्कर्ष निकालेर सम्बन्धित निकायलाई प्रतिवेदन बुझाउने उदेश्यले यो कार्यक्रम गरिएको हो,’ अध्यक्ष विकले भने ।
कार्यक्रममा शुक्लागण्डकीका मेयर कृष्णराज पण्डित, उपमेयर खुमबहादुर विक ‘राजु’ शुक्लागण्डकी–४ का वडाध्यक्ष राजकुमार वाग्ले, सडक आयोजनाका प्रतिनिधी, विद्युत कार्यालय, खानेपानी उपभोक्ता समिति, व्यवसायी लगायतसँग अन्तरक्रिया हुनेछ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रकाश थापाले राजमार्ग विस्तारसँगै दुलेगौंडा बजारको व्यवसायिक अस्तित्वप्रति गम्भिर हुनुपर्ने समय आएको बताए ।