दुलेगौंडा–१० किलोमिटर सडक कालोपत्रे गर्न कति समय लाग्ला ? एकैछिन सोचेर अनुमान लगाउनुस् त । अनुमान लगाउनुभयो ? १ वर्ष, २ वर्ष या ३ वर्षसम्म । दुई किलोमिटरको दरले काम भएपनि ढिलोमा त ५ बर्षमा सकिन्छ !
तपाईंले गरेका यी सबै अनुमानले फेल खान्छ तनहुँको दुलेगौंडा–हर्कपुर मोटरमार्गको सवालमा । शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा बजारदेखि म्याग्दे गाउँपालिकाको हर्कपुरसम्म जोड्ने १०.१८ किलोमिटर दूरी सडकले नेपालमा विकासको गति र ठेकेदारको मति छर्ल®ै देखाइरहेको छ ।
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम अन्तर्गत स्तरोन्नती सुरु गरेको यो सडकको काम ५ वर्षमा आधा पनि पूरा हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय तनहुँका अनुसार २०७६ कात्तिक ४ गते सडक स्तरोन्नती गर्न शंकरमाली निर्माण सेवा प्रालि काठमाडौंले ठेक्का लिएको हो । २०७८ माघ १६ गतेभित्र सडकको काम सक्ने कबुल गरेको शंकरमालीले पाँच बर्ष पूरा हुँदा पनि जम्माजम्मी ४१ प्रतिशत मात्रै काम सकाएको छ । ५ वर्ष बित्दासम्म भएको कामको प्रगतिलाई बार्षिक रुपमा भाग लगाउने हो भने अझै ७ वर्ष बढी उपभोक्ताले सास्ती खेप्नुपर्ने हुन सक्छ ।

२०५१ सालमा स्थानीय विकास मन्त्री सीपी मैनाली पालामा ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्दै सडकको ट्रयाक खोलिएको थियो । ट्रयाक खुलेको २५ वर्ष बित्दा सडक स्तरोन्नती भएन । २०७६ मंसिर २४ गते सडक स्तरोन्नती गर्नलाई आयोजना गरिएको शिलन्यास कार्यक्रममा पञ्चेबाजामा नाचेर खुशीयाली मनाएका स्थानीय हिजोआज निराश/आक्रोश छन् ।
बर्खामा हिलो र पहिरोको सास्ती भोग्छन् । हिउँदमा बुङबुङ्ती धुलोले आजित स्थानीय सडकको अनुगमनमा आउने हरेक मन्त्री र नेतासँग आक्रोश पोख्छन् । बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसी गण्डकीकै पूर्वअर्थमन्त्री किरण गुरुङलाई साथमा लिएर मोटरमार्गको निरीक्षण गर्न पुगे । निरीक्षणमा आएका मन्त्री, कर्मचारी, स्थानीय नेता र ठेकेदारका प्रनिनिधिसँग उपभोक्ताले कुण्ठाका स्वरहरु पोखे ।
दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउनारायण श्रेष्ठ राजनीतिककरणले काममा ढिलाइ भएको आरोप लगाए । मन्त्री र नेताले भाषणमा सडक कालोपत्रेको आश्वासन दिएपनि पूरा नगरेको उनी बताउँछन्् । ‘प्रत्येक चुनावमा वडा सदस्यदेखि लिएर माथि संसदसम्म दुलेगौंडा हर्कपुर बाटोको कागजपत्र घरघरमा बाँडिन्छ । अहिले होइन हिजैदेखि । प्रत्येक पार्टीका साथीहरुले हामीले बनाउँछु भन्छन् गएपछि बिर्सन्छन् ।’ आफूहरुलाई झुठा आश्वासन नभइ काम चाहिएको उनले बताए ।
स्थानीय विष्णुहरि गर्तौलाले सडक निर्माणमा सम्बन्धित निकायको चासो कम दिएको बताए । ‘हाम्रो आवाज एउटै मात्रै छ । जनताले चाहेको मोटरमार्ग कालोपत्रे हो । हाम्रो राइसकुकरमा, प्रेसरकुकुरमा चामल ल्याइदिउ भनेर हामीले कसैलाई पनि भनेका छैनौं’, उनले भने ।

शंकरमाली सेवाका प्रतिनिधि श्याम लामाले पूर्वाधार विकास कार्यालयले भुक्तानी दिनलाई आनाकानी गरेकाले पनि ढिलाइ भएको बताए । कोरोना महामारीसँगै निर्माण कम्पनीले व्यहोरेको नोक्सानीलेसमेत समस्या भएको उनको भनाइ थियो । ‘अहिले काम भइरहेको छ । भएको बिललाई प्राथमिकता दिएर १० लाख हुन्छ की २० लाख हुन्छ भुक्तानी दिएर काम सरासर भयो भने हुन्छ । नत्र काम यस्तै हो’, पूर्वाधार विकास कार्यालयसँग असन्तुष्टि पोख्दै लामाले थपे, ‘पैसा नभएसम्म कसैले १ रुप्पेको सामान दिदैन । काम गरेपछि त पैसा पाए पो अगाढि बढ्छ ।’ उनले काम अनुसारको भुक्तानी नपाएपनि यात्रुलाई सहज वातावरण बनाइदिएको दाबी गर्छन् ।
पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख इञ्जिनियर रविन्द्र तिवारीले हालसम्म १० करोड ५८ लाख ४ हजार ५०९ रुपैयाँ ९९ पैसा भुक्तान गरिएको जानकारी दिए । उनका अनुसार २५ करोड १० लाख ६० हजार ५० रुपैयाँ ६५ पैसा भ्याटसहितमा ठेक्का सम्झौता भएको हो । निर्माण कम्पनीले काम गरेको खण्डमा सहजीकरण गर्न पूर्वाधार विकास कार्यालय तत्पर रहेको इञ्जिनियर तिवारीको दाबी छ ।उनी भन्छन्, ‘तपाईंले ५० जना मान्छे झार्नुस हामीले १० देखि २० लाख विल पनि उठाइदिन्छौं । नभए वाहानाबाजी गरेर काम ढिला नगर्नुस् ।’

गण्डकीका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले कामलाई तिब्रता दिन निर्माण व्यवसायीलाई ताकेता गरे । ‘तपाईंले ५० जना मान्छे झारेर काम गर्नुस’, निर्देशन दिदै उनले भने, ‘डिइ साबले उहाँको जे छ त्यो भुक्तानीलाई अगाडि बढाएर यो कामलाई गति दिनुहोला ।’
दुलेगौंडा हर्कपुर मोटरमार्गको सम्झौता अवधि सकिएपछि पहिलो पटक २०७९ असार ३० गतेसम्मलाई म्याद थपिएको थियो । त्यो अवधिमा पनि पूरा नहुँदा दोस्रो पटक २०८० जेठ १४ गतेसम्मलाई थप भयो । तेस्रो पटक थपिएको म्याद आगमी असार १३ गते सकिदैछ ।
गण्डकी प्रदेश सरकारलाई समेत गिज्याइरहेको यो योजना पछिल्लो म्यादमा सकिनेमा स्थानीय आशंकित छन् । आशंकाको प्रश्नसहित भन्छन्,‘बाटोको विषय लिएर असारपछि अर्को टोली आउँछ की आउदैन ?’