दुलेगौंडा
दुलेगौंडामा भएको निशुल्क स्वास्थ्य शिविरमा २३३ जना लाभान्वित भएका छन् । डिजी लिंक नेटवर्क प्रालिले ११ औं वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर आयोजना गरेको हो ।
तनहुँ सेवा हस्पिटलमा शनिबार दिनभर बिरामीलाई स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको थियो । तनहुँ सेवा हस्पिटल, आविष्कार अस्पताल र युआरएल फाउण्डेसनको प्राविधिक सहयोगमा भएको शिविरमा १०८ जनाले पेट, छाति र मुट रोग परीक्षण गरेको डिजी लिंकका अध्यक्ष विपिन वाग्लेले जानकारी दिए ।
उनका अनुसार ४९ जनाले हाडजोर्नी, ४२ जनाले छाला, ३० जनाले नाक, कान, घाँटी, ८२ जनाले भिडियो एक्सरे र ४ जनाले सर्जरी सेवा लिए । १३९ जनाको ल्याब परीक्षण, ३९ जनाको इसिजी र २७ जनाको एक्सरे गरिएको छ ।
नाक, कान, घाँटी रोग विशेषज्ञ डा. सञ्जय कोइराला, छाला तथा यौन रोग विशेषज्ञ डा. रमेश शर्मा, पेट, मुटु, छाती, सुगर, थाइराइड विशेषज्ञ डा. कृष्णराज अधिकारी, हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मेघराज लामीछाने, जनरल सर्जन डा. मत्सेन्द्र झा, डा.सन्तोष बरालले शिविरमा सेवा दिएका थिए ।
दुलेगौंडामा प्रधान कार्यालय रहेको डिजी लिंक तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, स्याङजाको हरिनास गाउँपालिका र पाल्पाको रामपुर नगरपालिकाको २८ वडामा सेवा दिइरहेको छ । ३ हजार २०० बढी ग्राहकले डिजी लिंकको सेवा लिइरहेका छन् ।